• बिहिबार, साउन १४ २०८३

गोरखामा एउटै गाउँका २३ सहित एकैदिन थपिए ८० जना कोरोना संक्रमित


शुक्रबार, साउन १ २०७८
620
Shares

गोरखा । जिल्लामा एकै दिन ८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय गोरखाले दिएको जानकारी अनुसार बिहीबार गोरखा अस्पताल, गण्डकी, शहिद लखन, आरुघाट र अजिरकोट गाउँपालिकाका गरी कुल ८० जनामा संक्रमण पुष्टि भएको हो ।

अनुपातमा सबै भन्दा धेरै शहिद लखन गाउँपालिकामा २३ जना संक्रमित भएका छन् । वडा नम्बर ८ को छापथोकका स्थानीयहरुमा कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएपछि एन्टिजेन परीक्षण गरिएको थियो । २५ जनामा गरिएको परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको शहिद लखन गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र श्रेष्ठले बताए ।

केही दिन अघि उक्त गाउँपालिकाको कृषि शाखामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । त्यपछि त्यहाँ कन्ट्रयाक्ट टे«सिङ गरिएको हो । संक्रमित मध्ये १३ जना महिला र १० जना पुरुष रहेका छन् । पिसिआर परीक्षणका लागि सो क्षेत्रमा शनिवार स्वाब संकलन गर्ने तयारी गरिएको छ । आरुघाट गाउँपालिकामा सबै भन्दा धेरै २९ जना संक्रमित भएका छन् । उनी मध्ये १५ जना महिला १४ पुरुष रहेको त्यहाँको स्वास्थ्य शाखाले जनाएको छ ।

यसैगरी अजिरकोट गाउँँपालिकाका ४ महिला ११ पूरुष गरी १५ जनामा संक्रमण देखिएको छ । गण्डकी गाउँपालिकामा ८ महिला र ३ पुरुष गरी ११ जना संक्रमित भएका छन् । जिल्ला अस्पतालमा परीक्षण गराएका एक महिला र एक पुरुष गरी दुई जनाको रिर्पोट पनि पोजेटिभ आएको स्वास्थ्य कार्यालय गोरखाले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । कुल संक्रमित ८० मध्ये २९ जनाको पिसिआर र ५१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको हो । पिसिआर गरिएका २९ जना सबै आरुघाट गाउँपालिकाका स्थानिय रहेका छन् ।

बिहीबार २५ जना महिला र २८ जना महिलाको पीसीआर रिर्पोट प्राप्त भएको थियो । बिहीबार कुनै पनि पीसीआर संकलन नगरिएको कार्यालय जनाएको छ । साथै ५२ जना महिला र ५१ जना पुरुषको एन्टिजेन परिक्षण पनि गरिएको छ । अहिले जिल्लाका विभिन्न स्थानिय तहमा २९४ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।

जिल्लामा पछिल्लो समय संक्रमण दर कम देखिनुमा चेकजाँचको कमी रहेको यो तथ्याङ्कले पुष्टि गरेको छ । जिल्लाका कतिपय स्थानीय तहहरुले विगत केही समय यता चेकजाँचलाई चासो देखाएका छैनन् । चेकजाँच गराएकाहरुले पनि एन्टिजिन परीक्षण मात्र गराएको देखिन्छ । प्रशासनले निषेधाज्ञा खुकुलो पार्दै लगेपछि अहिले यातायात व्यापार व्यवसाय सबै खुल्ला भएको छ ।

सदरमुकामकै पार्टी प्यालेसहरुमा सयौं मानिसहरुको भिडमा बिवाहका कार्यक्रमहरु भइरहेका छन् । सार्वजानिक यातायात मानिसको भिडभाड छ । सरकारी कार्यालय बैकं तथा वित्तिय संस्थामा सेवाग्राहीको भिड छ । जसले गर्दा कोरोनाको जोखिम फेरी बढेर गएको विज्ञहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार