काठमाडौं । अष्ट्रेलियाले टी २० सिरिजको चौथो खेलमा वेष्ट इन्डिजमाथि ४ रनको रोमाञ्चक जित हात पारेको छ ।
लगातार तीन खेल हार्दै सिरिज गुमाइसकेको अष्ट्रेलियाले पहिलो जित हात पारेको हो ।
अष्ट्रेलियाका लागि मार्सले सर्वाधिक ७५ रन बनाउनुका साथै ३ मुख्य विकेट लिए ।
सेन्ट लुसियास्थित डारेन सामी स्टेडियममा अष्ट्रेलियाले दिएको १९० रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८५ रन बनायो । वेष्ट इन्डिजका लागि ओपनर लेन्डल सिमोन्सले सर्वाधिक ७२ रन बनाए । यस्तै अर्का ओपनर एभिल लेविसले ३१, फाबियन एलनले २९ रन बनाए भने आन्द्रे रसेलले २४ रनमा अविजित रहे ।
अष्ट्रेलियाका मिचेल स्टार्कले उत्कृष्ट बलिङ गरे । बलिङमा मार्सले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । उनले सिमोन्स, क्रसि गेल र निकोलस पुरनलाई आउट गरे । यस्तै एडम जाम्पाले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले मार्स र कप्तान आरोन फिन्चको अर्धशतकमा ६ विकेट गुमाएर १८९ रन बनाएको थियो ।
ओपनर म्याथ्यु वेड ५ रन बनाएर आउट भए पनि फिन्च र मार्सले दोस्रो विकेटका लागि ११४ रनको साझेदारी गरे । मार्सले ४४ बल खेल्दै ४ चौका र ६ छक्का मद्दतमा ७५ रन बनाए । फिन्चले ३७ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे ।
यस्तै डान क्रिस्टियन २२ बलमा अविजित रहे । उनले १४ बल खेल्दै २ चौका र १ छक्का प्रहार गरे ।