जापानले नेपाल सरकारलाई कोभ्याक्स सुविधामार्फत १६ लाख मात्रा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप दिने घोषणा गरेको छ ।
एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीद्वारा निर्माण गरेको १६ लाख मात्रा दिन लागेको नेपालस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको हो ।
नेपालका लागि जापानी राजदूत किकुता युताकाले खोप अनुदानमा दिने निर्णयले नेपाल र जापानको लामो समयदेखिको मैत्री सम्बन्ध झल्किएको बताएका छन् ।
खोप जुलाईको मध्यदेखि एक महिनाभित्र बीचमा नेपाललाई उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मंगलबार जारी गरिएको विज्ञप्ति अनुसार, खोप आउने समय तालिका भने अन्तर्राष्ट्रिय सङ्गठनसँगको खरिद सम्झौता पूरा भएपछि सार्वजनिक गरिने छ ।
जापानबाट कोरोनाविरुद्धको खोप आइसकेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी वितरण गरिने विज्ञप्तिमा उल्लेख छ ।
जापानी दूतावासले भनेकै समयमा खोप नेपाललाई उपलब्ध गराएमा कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा बसेका जेष्ठ नागरिकले पाउने छन् ।