गोरखा । गण्डकी प्रदेश सरकारले प्रदेश भरका स्थानीय तहकाे विपद् कोषमा ५-५ लाख रुपैयाँ रकम दिने भएको छ।
विपद् व्यवस्थापनका लागि ११ जिल्लाका ८५ वटै स्थानीय तहलाई पाँच लाखका दरले चार करोड २५ लाख रुपैयाँ उपलब्ध गराउने बिहीबार निर्णय भएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए।
स्थानीय विपद् व्यवस्थापन कोषमा विपद्जन्य घटनाहरूको रोकथाम, उद्धार र राहत तथा पुनर्स्थापनालगायत प्रयोजनका लागि मात्र खर्च गर्न पाउने गरी रकम दिन लागिएको खड्काले बताए। चालु आर्थिक वर्षको बजेटबाटै उक्त रकमको व्यवस्थापन गरिने भएको पनि उनको भनाइ छ।
अहिले बाढी पहिरोको प्रकोप निकै बढेकाले प्रदेश सरकारले सिधै सहयोग गर्नुभन्दा स्थानीय सरकारले त्यो काम गर्दा राहत पाउनुपर्ने मान्छेले राहत पाउने र उद्धार तथा विपद्सम्बन्धी प्रतिकार्य पनि छिटो हुने भएकाले उक्त रकम स्थानीय तहलाई जिम्मा लगाएको मन्त्री खड्काले बताए। प्
रदेशभरका जिल्लाहरूमा बाढी पहिरो तथा अन्य कुनै विपद्का कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको र आवश्यकताअनुसार उद्धार, राहत तथा पुनर्स्थापना गरिने उनको भनाइ छ।