काठमाण्डौ । इङ्ग्ल्यान्ड पहिलो पटक युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
डेनमार्कलाई २–१ गोलले हराउँदै इङ्ग्ल्यान्डले उपाधि नजिक पुगेको हो । ठूलो प्रतियोगितामा इंग्ल्याण्ड ५५ वर्षपछि पहिलो पटक फाइनल पुगेको हो । यसअघि सन् १९६६ को विश्वकपमा इंग्ल्याण्डले फाइनल पुग्दै उपाधि जितेको थियो ।
वेम्बली स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले एक गोल गरे । इङ्ग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो । डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल गरे । डेनमार्कले खेलको ३० औं मिनेटमा डाम्सगार्डले गरेको गोलबाट अग्रता बनाए पनि जोगाउन सकेन ।
खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोन क्येरले आत्मघाती गोल गरेपछि खेलमा १–१ को बराबरी भयो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय ४ औं मिनेटमा इङ्ग्ल्यान्डका कप्तान केनले गोल गरे ।
पहिलो पटक फाइनल पुगेको इंग्ल्याण्डले उपाधिका लागि आइतबार इटलीसँग खेल्नेछ ।