गोरखा । बाढी पहिराेले पैदल मार्ग समेत बन्द भएपछि उत्तरी गोरखामा हेलिकप्टर मार्फत चामल ढुवानी गरिएको छ । लगातारको वर्षात पछि उत्तरी गोरखा जाने पदमार्ग भत्किएर खच्चड समेत हिड्न नसक्ने भएपछि हेलिकप्टर मार्फत चामल ढुवानी गरिएको हो ।
गृहमन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकम्पटर मार्फत बुधबार ८५ क्विन्टल अनुदानको चामल चुमनुब्री गाउँपालिका ३ सिद्र्धिबास पु¥याइएको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।

‘बाढी पहिरोले खच्चड हिडाउन सक्ने अबस्था पनि रहेन जसका कारण माथि त खाद्यन्न अभाव देखिन थाल्यो,’ उनले भने, ‘सिडिओ साप, नेपाली सेना र गाउँपालिका, खाद्य संस्थान सबैको सहयोग र समन्वयमा हामीले ढुवानी गर्न सफल भएका छौं ।’
चालम लिएर आफै पुगेका उनले स्थानीयलाई सहज ढङ्गले सहुलियतको चामल किन्न सक्ने व्यवस्था मिलाएर फर्किएको बताए । बुधबार ४ फ्लाइट मार्फत ८५ क्वीन्टल अर्थात २१० बोरा चामल लगिएको छ ।
हेलिकप्टर उपलब्ध भए आज अर्थात बिहीबार थप चामल लगिने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । उत्तरी गोरखाको सिर्दिबास डिपोका लागि १५० क्विटल चामल लैजाने योजना रहेको उनको भनाई छ ।