काठमाडौं । युरोकप २०२० को पहिलो सेमिफाइनलमा मंगलबार राति इटली र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ ।
लण्डनस्थित वेम्वली मैदानमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
यस संस्करणमा इटली र स्पेन अपराजित छन् भने इटलीले खेलेका सबै ५ खेल जितेको छ । इटली अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३२ खेलमा अपराजित छ । अष्ट्रिलया र बेल्जियमविरुद्ध गोल बेहोरेको इटलीले त्यसअघि लगातार ११ खेलमा गोल खाएको थिएन ।
सर्वाधिक ३ पटक युरोकप जितेको स्पेनले यसपटक उपाधि जित्दै सबैभन्दा सफल टिम बन्न चाहन्छ । इटलीले भने सन् १९६८ मा एक पटक मात्र उपाधि जितेको छ । अहिलेसम्म चार पटक सेमिफाइनल पुग्दा स्पेनले चारै पटक जित हात पारेको छ ।
इटली पनि अहिलेसम्म चार पटक सेमिफाइनल खेल्दा ३ पटक विजयी भएको थियो भने एक पटक पराजित भएको थियो । सन् २०१६ मा फ्रान्समा भएको युरोमा इटलीले स्पेनलाई क्वाटरफाइनलमा पराजित गरेको थियो । स्पेन त्यसको बदला लिने लक्ष्यमा पनि हुनेछ ।
पहिलो पटक युरोपको ११ देशमा आयोजना भएको युरोकपको अब बाँकी तीन खेल वेम्वली मैदानमा हुनेछ । जहाँ करीब ६० हजार दर्शकलाई प्रवेश अनुमति दिइने भएको छ । इटली र स्पेन युरोकपमा खेल्न लागेको यो सातौं पटक हो ।
अहिलेसम्म यी दुई टिम ३७ पटक आमने सामने हुँदा दुवै टिमले ११/११ खेल जितेका छन् । १५ खेल बराबरीमा सकिएको थियो ।