काठमाडौं । इक्वेडरलाई पराजित गर्दै अर्जेन्टिना ब्राजिलमा भइरहेको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार बिहान सम्पन्न अन्तिम क्वाटरफाइनल अर्जेन्टिनाले इक्वेडरलाई ३-० ले हरायो ।
खेलको ४०औं मिनेटमा मेस्सीको पासमा रोड्रिगो डे पउलले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको अर्जेन्टिनाले अन्तिम ६ मिनेटमा दुई गोल थप्यो । ८४औं मिनेटमा मेस्सीकै पासमा लाउटारो मार्टिनजेले गोल गर्दै अग्रता दोब्बर पारे ।
यस्तै इन्जुरी टाइमको तेस्रो मिनेटमा मेस्सीले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरे । यस संस्करण मेस्सीको यो चौथो गोल हो । उनी सर्वाधिक गोल गर्नेमा सबैभन्दा अघि छन् ।
अर्जेन्टिनाले अब सेमिफाइनलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ ।