गोरखा । गोरखाको अजिरकोट र बारपाक सुलिकाेट गाउँपालिका जोड्ने पक्की पुल दरौंदी नदीको बाढीले भासिएकाे छ ।
निरन्तरकाे बर्षातपछि गएराति दराैदी नदीमा आएकाे बाढीले अजिरकोट हुदै बारपाक जाने पुल भासिएकाे हाे । पुलकाे एकातर्फको भाग भत्काएको स्थानीय शंकर सदाशंकरले सिभिलखबरलाई बताए ।
गएराती करिब ३ बजे नदीमा आएकाे बाढीले अजिरकाेट तर्फकाे एक भाग भत्काएकाे उनले बताए । केहि समयअघिदेखि नै नदीले पुलकाे छेउपट्टिकाे भाग कटान गर्दै लगेकाे थियाे ।
कटान भएकाे खबर पाएपछि केहि दिन अघि मात्रै गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम पाैडेलसहितकाे टाेलीले साे पुलकाे अनुगमन गरेर फर्किएकाे थियाे ।
पुल भत्किएपछि हाल आवतजावत पूर्ण रुपमा बन्द भएकाे स्थानीयले बताएका छन् । साे पुल रहेकाे ४ सय मिटर तल रहेकाे झाेलुङ्गे पुल समेत २०७२ सालकाे भूकम्पले ध्वस्त बनाएपछि हालसम्म मर्मत हुन नसकेकाे स्थानीय सदाशंकरले सिभिलखबरसंग दुखेसाे गरेका छन् ।
झोलुङ्गे पुल मर्मतका लागि स्थानीयले प्रशासन र स्थानीय सरकारलाई गुहारेपनि हालसम्म कसैले वास्ता नगरेकाे स्थानीय बताउछन् । हाल झोलुङ्गे पुल समेत नरहेकाे र पक्कि पुल समेत बाढीले भत्काएपछि आवतजावत पूर्ण रुपमा बन्द हुन पुगेकाे छ ।
साे पुल पाँच वर्ष अगाडि मात्रै निर्माण सम्पन्न भइ सुचारु भएका थियाे ।


तस्विर : मंगल सदाशंकर