गोरखा । उत्तरी गोरखाको चुमनुब्रीका सर्वसाधरणलाई खोप लगाउने गृहकार्य सुरु भएको छ । स्वास्थ्य कार्यालय गोरखाले दिएको जानकारी अनुसार त्यहाँका १८ देखि ५४ को वर्ष उमेर समूहका नागरिकहरुलाई खोप लगाउन तयारी सुरु भएको हो ।
‘छिमेकी देशसँग सिमा जोडिएको पालिकाहरुमा १८ देखि ५४ वर्ष उमेर समूहका व्यक्तिलाई पहिले खोप लगाउने भन्ने केन्द्र सरकारको नीति छ,’ स्वास्थ्य कार्यालय गोरखाका खोप कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले भने, ‘सोही अनुरुप चुमनुब्री गाउँपालिकामा ४ हजार ५ सय मात्रा खोप माग गरिसकिएको अबस्था छ ।’
खोप लगाउने कार्यक्रम अघि बढेपनि ढुवानीमा भने समस्या हुने देखिएको छ । लगातारको वर्षातले त्यहाँ जाने स्थल मार्ग भत्किएपछि हेलिकप्टरबाट खोप लैजानु पर्ने बाध्यता छ । त्यसको लागि गृहमन्त्रालयसँग आवश्यक समन्वय पनि भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसको अलवा यस अघि लगाइएको उमेर समूह र अग्रपंतीका सूची रहेका तर छुटेकाहरुलाई पनि खोप लगाउने गृहकार्य भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । यो संख्या झण्डै २ हजार ५ सय रहेको अनुमान गरिएको छ ।
यसैगरी पछिल्लो पटक प्राप्त भएको ३ हजार ४८३ मात्रा खोप अधिकाशं पालिकाले लगाइसकेका छन् । आरुघाट गाउँपालिकाले भने मंगलबार मात्र ३०५ मात्रा खोप बुझेर लगेको खत्रीले बताए । त्यहाँ अहिले खोप लगाउने कार्यक्रम भइरहेको छ । जेठको २५ गतेबाट ६४ वर्ष उमेर समूहका वृद्धवृद्धालाई खोप लगाइएको थियो ।
उक्त खोपको दोश्रो मात्रा स्वरुप ३ हजार ४६१ मात्रा खोप पनि प्राप्त भएको छ । केही समय पछि दोश्रो जोड लगाउने तयारी भइरहको छ । अन्य उमेर समूहका व्यक्तिका लागि पनि खोप माग गरिएको कार्यालयले जनाएको छ ।