गोरखा । जिल्लामा कोरोना संक्रमण केही आरालो लागेपछि थपिने क्रम रोकिएको छैन । बिहीबार थप ७ जना संक्रमित भएका छन् । गोरखा नगरपालिका, गोरखा अस्पताल र धार्चे गाउँपालिकामा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
संक्रमण देखिएका मध्ये २ जना पीसीआर परिक्षणबाट र ५ जना एन्टिजेन परिक्षण गरएका थिए । गोरखा अस्पतालमा गरिएको एन्टिजेन परिक्षणमा २ जना महिला र १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरी गोरखा नगरपालिकाले नगरक्षेत्रमा गरेको एन्टिजेन परिक्षणमा २ जना पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै गरी धार्चे गाउँपालिकामा पीसीआर परिक्षणका क्रममा २ जना पुरुष संक्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार गोरखा नगरपालिकामा १ जना पुरुष र ४ जना महिला, गोरखा अस्पतालमा ६ जना महिला र ९ जना पुरुष, आरुघाटमा १ जना पुरुष र अजिरकोटमा १ जना महिला र ४ जना पुरुषमा एन्टिजेन परिक्षण गरिएको थियो । यी सबै स्थानमा ८ महिला र १८ पुरुष गरी २६ जनाको एन्टिजेन परिक्षण गरिएको हो ।
त्यस्तै गरी बिहीबार नै धार्चे गाउँपालिकामा १६ जना महिला र १० जना पुरुषको पीसीआर संकलन गरिएको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ । जिल्लाको विभिन्न स्थानिय तहमा बिहीबारसम्म ३०० जना सक्रिय संक्रिमत रहेका छन् ।
बिस्तारै निषेधाज्ञा खुकुलो पारिएको छ । यसले गर्दा संक्रमण बढ्न सक्ने भन्दै सरोकारावालाहरुले चिन्ता व्यक्त गरेका छन् ।