चरीबाघको छालासहित बाँकेमा दुई जना पक्राउ परेका छन्।
प्रहरीले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ९ का ३२ वर्षीय सन्तोष कुँवर र दैलेख भैरवी गाउँपालिका वडा नम्बर ३ का १९ वर्षीय जितेन्द्र शाहीलाई पक्राउ गरेको हो।


प्रहरीले उनीहरूलाई बाँके राप्तीसोनारी गाउँपालिका कुशुम बजारबाट मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।
वन्यजन्तुको छाला खरिद बिक्री भइरहेको छ भन्ने सूचना प्रहरीले पाएपछि टोली खटाएको थियो।
उनीहरु चढेर आएको रा ४ प ६५०४ नम्बरको स्कुटरको डिक्की चेकजाँच गर्ने क्रममा सेतो— खैरो रंगको चरी बाघको जस्तो देखिने ३ फिट ३ इन्च लामो छाला फेला पारेको प्रहरीले जनाएको छ ।
कुँवर र शाही दुबै जना पेन्टिङको काम गर्ने गर्थे। उनीहरूबीच कामबाटै चिनजान भएको प्रहरीले बताएको छ।
शाहीलाई कोहलपुर घर बताउने रविन खड्काले आफूसँग चितुवाको छाला भएको र त्यसलाई बिक्री गरेर आएको पैसा बाँड्नुपर्ने भनेका थिए। अहिले खड्का पक्राउ परिसकेका छैनन्।

उनीहरूले चरीबाघको छाला ३० लाखमा बेच्ने तयारी गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रनाउ न्यौपानेले बताए।
खड्काले शाहीलाई छाला लिन मंगलबार घोराही पठाएका थिए। त्यसक्रममा उनीहरू चरीबाघको छाला लिएर फर्किँदै गर्दा पक्राउ परेका हुन्। उनीहरूले दाङमा मिलन राना भन्ने व्यक्तिबाट छाला लिएको प्रहरीलाई बताएका छन्। तर राना पनि अहिलेसम्म फेला परेका छैनन्।
यस सम्बन्धी वन डिभिजन कार्यालयले थप अनुसन्धान गरिरहेको छ।
राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिमको ५ लाख देखि १० लाखसम्म जरिवाना र पाँच वर्ष देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने प्रावधान छ।
