गोरखा । विद्युत र इन्टरनेट सेवा उपलब्ध नहुँदा उत्तरी गोरखाको धार्चे गाउँपालिकाको अस्थायी कार्यालय आरुघाट स्थापना गरिएको छ । केही दिन यता परेको अबिरल वर्षापछि गाउँपालिकाको केन्द्र माछाखोला क्षेत्रमा विद्युत, टेलिफोन तथा इन्टरनेट बन्द भएको छ ।
असार मसान्त नजिकिदै गर्दा गाउँपालिकाको प्रशासनिक काम ठप्प भएपछि आरुघाटमा अस्थायी कार्यालय स्थापना गरिएको हो । ‘हामीले जति प्रयास गर्दा पनि कार्यालयमा बसेर काम गर्न सकिएन,’ गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले भने, ‘असार मसान्तसम्मको लागि आरुघाटको एउटा होटल भाडामा लिएका छौं अब यहीँ बसेर सबै काम गर्छौं ।’
आरुघाट, धार्चे गाउँपालिकाको प्रवेशद्धारा हो । गोरखाको दोश्रो व्यापारीक केन्द्रको रुपमा रहेको त्यहाँ विद्युत, इन्टरनेट र टेलिफोन सेवा राम्रो छ । आरुघाटको धादिङ तर्फ पर्ने त्रिपुरासुन्दरी गाउँपालिकामा अव्यस्थित एउटा होटलमा कार्यालय सञ्चालन गरिएको छ । ‘कामको चाङ छ । अहिलेसम्म केही गर्न नै पाईएको छैन,’ उपाध्याक्ष पूmलमायाँ गुरुङले भनिन्, ‘झिटीगुन्टा लिएर आएर आरुघाट आएका छौं ।’
जसबाट कर्मचारी, जनप्रतिनिधी सेवाग्राही सबैलाई दुखः भएको छ । माछाखोलामा रहेको कार्यालयबाट पनि नियमित काम भने सञ्चालन भइरहेको छ । गाउँपालिकाको कार्यालय छोडेर अन्यत्रै बाट अस्थायी रुपमा काम गर्नु पर्दा निकै समस्या भएको कर्मचारीहरुले गुनासो गरेका छन् । ‘यो हाम्रो रहर होइन बाध्यता हो । दुई तिर अफिस छ । कर्मचारी साथीहरु दुई तिर बाडिनु परेको छ,’ प्रमुख प्रशासकीय अधिकृत रामबहादुर अधिकारीले भने, ‘विपत्ती यस्तै आइप¥यो, हामिले त दुखः पायौं पायौं जनताले पनि दुखः पाउनु भयो ।’
निषेधाज्ञाका कारण सवारी नचलेकाले सो क्षेत्रका जनतालाई भुक्तानी लिन हिडेरै आउनु पर्ने बाध्यता छ । माछाखोलाबाट गाडी नचालेपनि सोतीबाट आरुघाट सम्म गाडी सञ्चालन भए पनि जनताले ठूलो राहत पाउने थिए । उत्तरी गोरखाको धार्चेमा भर्खरै राष्ट्रिय प्रशारण लाइन पुगेको हो । तर केही दिन यताको वर्षात पछि आएको बाढि पहिरोले पोल लडाएपछि त्यहाँको विद्युत सेवा नियमित हुन सकेको छैन ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका पनि सम्र्पक विहिन भएको छ । त्यहाँ चल्ने सिडिएम फोन पनि सञ्चालनमा नआउँदा खबर आदान प्रदान हुन पाएको छ । बाढि पहिरोका कारण समयमै गाउँ सभा नसकेको चुमनुब्री गाउँपालिकाले सोमबारबाट सभा सुरु गरेको छ ।
सदरमुकाममा सम्र्पक कार्यालय राखेर काम गरिरहेको उक्त गाउँपालिकाले सभा सम्पन्न गरेपछि विल भुक्तानीका लागि भने सदरमुकाम नै आउनु पर्ने बाध्यता छ ।