चीनमा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन सुरु भएको छ।
याङ्सी नदीको सहायक नदीका रुपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट विद्युत उत्पादन हुन थालेको हो।
बाइहेटान बाँधको उचाई २८९ मिटर अग्लो हुनेछ र १० लाख किलोवाट क्षमताका १६ वटा विद्युत उत्पादन जेनेरेटर जडान हुनेछन्।
यो सन् २००३ मा चीनको याङ्जी नदीमै निर्मित थ्री गर्जेज बाँधपछिको दोस्रो ठूलो हो। थ्री गर्जेजको विद्युत उत्पादन क्षमता दुई करोड २५ लाख किलोवाट रहेको छ।
यी दुबै विद्युत आयोजना राज्य नियन्त्रित थ्री गर्जेज ग्रुप कर्पोरेसनले निर्माण गरेको हो। यो समूह जलविद्युत, सौर्य र वायु ऊर्जा उत्पादनमा विश्वकै सर्बाधिक ठूलो लगानीकर्ता हो।
चीनले उत्पादित विद्युतलाई शाङ्घाई र अन्य पूर्वी शहरहरुमा उच्च गतिको प्रसारण लाइनबाट विद्युत लैजाने गरेको छ।