• आइतबार, असोज ११ २०८३

बेसहाराको सारथी बन्न नेपाल बराम संघले परिचालन गर्‍यो ‘विपत्ति कोष’


सोमबार, असार १४ २०७८
1.1K
Shares

मेलिना बराम, गोरखा । कोरोनाबाट संक्रमित भई तथा विपद्मा परी दैनिक गुजारो गर्न, उपचार लगायतमा खर्च जुटाउन नसकेका बराम समुदायका परिवार र संक्रमितहरुलाई सहयोग गर्नका लागी नेपाल बराम संघले ‘विपत्ति कोष’ परिचालन गरेको छ ।

विपद्मा परी दैनिकी चलाउन नसकेका संक्रमित भई उपचार गर्न नसक्ने अवस्थामा रहेका अति विपन्न तथा सिमान्तकृत बराम समुदायका मानिसहरुलाई सहयोग गर्न ‘विपत्ति कोष’ परिचालन गरिएको संघका अध्यक्ष भद्र कुमारी बरामले जानकारी दिइन् ।

बराम समुदाय भित्र पनि आर्थिक अवस्था एकदमै कमजोर भएका परिवार तथा संक्रमितलाई सहयोग गर्न संगठन परिचालन गरिएको अध्यक्ष बरामले सिभिलखबरलाई बताईन् । ‘हाम्रो समुदय राजनितिक, शैक्षिक, आर्थिक हरेक क्षेत्रमा पछि रहेको समुदाय हो ।’ उनले भनिन् ‘त्यसैले हामी हामी मिलेर नै आफ्नो समुदायको लागी केही गर्नु पर्छ भनेर संगठन खडा गरेका हौँ ।’

यति बेला संगठनले संघको खातामा विभिन्न सहयोगदाता र बराम बन्धुहरुद्धारा सहयोग जुटाई रहेका छन् । देश विदेशमा रहेका बराम युवाहरु, शुभचिन्तक तथा सहयोगदाताहरुबाट अहिले सम्म ५१ हजार ५ सय ७० रुपैयाँ संघको खातामा जम्मा भएको उपाध्यक्ष किरण बरामले सिभिलखबरलाई जानकारी दिए । बराम बन्धुहरुले सहयोग गर्ने प्रतिबद्धता गरिरहेकाले रकम जुट्ने क्रम जारी रहेको उनले बताए ।

महामारी सकिए पनि संगठन निरन्तर परिचालन गरि रहने अध्यक्ष बरामको भनाई छ । ‘बरामको हक, हित, उन्नती र विकासका लागी हामीले यो संगठन परिचालन गरेका हौं ।’ उनले अघि भनिन् ‘महामारी सकिए पनि हामी यसलाई निरन्तरता दिई राख्छौं ।’

अहिले सिरानचोक गाँउपालिका वडा नं. ७ कुतिजुङका अति विपन्न बराम समुदायका संक्रमितहरुका लागी उपचार खर्च जुटाएर सहयोग गर्ने काम भई रहेको उनले बताईन् । त्यहाँका संक्रमितहरुको पछिल्लो स्वास्थ्य अवस्था बारे सोही क्षेत्रमा कार्यरत नर्स अंकला बरामले संघलाई अपडेट गरिरहेको पनि उनले जानकारी दिईन् ।

‘विपत्ति कोष’ खडा गर्नुको कारण महामारीमा परेका, बाढी पहिरोमा परेकालाई उद्धार गर्नु मात्र नभएर भावी दिनमा आउने विपत्ति र समस्याको समाधान गर्नु हो भन्ने कुरा उनले स्प्रष्ट पारिन् ।

कोरोना संक्रमित तथा बाढी पहिरो पिडीत बराम समुदायका अति विपन्न वर्गहरुको उद्धार गर्ने तथा राहत वितरण गर्ने काममा जुट्ने तयारी भई रहेको संघले जनाएको छ । संघले बराम समुदायका विपन्न वर्गलाई मात्रै सहयोग गर्ने कुरा अध्यक्ष बरामले पुनः स्मरण गराएकी छिन् ।

उनले थपिन् ‘यस्तो महामारीको बेला आर्थिक अभावकै कारण हाम्रा समुदायका कतिपय संक्रमितहरुले उपाचार नपाएको पिडीतहरुले उद्धार नपाएको भन्ने गुनासो आए पछि हामीले यो संगठन खडा गर्ने निर्णय गरेका हौँ ।’

संक्रमिको उपचारका लागी मात्रै नभएर आर्थिक अवस्था अत्यन्त कमजोर दिर्घ रोगी बरामहरु, अति अशक्त अपांगता भएका बरामहरु, बाढी पहिरा, आगलागीबाट धनजन क्षति भई अति समस्या परेका बरामहरुको उद्धार गर्न ।

यस्तै, प्रतिभा भएर पनि गरिवीका कारण किताव कापी किन्न नसक्ने गाउँघरका बराम बालबालिकाहरु, परिक्षा शुल्क तिर्न नसकेर परिक्षा रोकिने अवस्थामा पुगेका बराम विद्यार्थीहरु, विदेशमा अलपत्र परेका बरामहरु आदिको उद्धार, राहत, उपचार लगायत कार्य गर्न विपद् कोष स्थापना गरिएको संघले जनाएको छ ।

अध्यक्ष बरामले कोरोनाको दोस्रो लहर यता बराम समुदाय भित्र कति जना संक्रमित रहेको भन्ने बारे पनि अपडेट संकलन गरिरहेको बताइन् । बराम समुदायका बन्धुहरु लगायत इच्छुकहरुले पनि आ—आफ्नो स्थानबाट सक्दो सहयोग गरिदिन संघले आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार