• आइतबार, असोज ११ २०८३

घाँस काट्न गएका ७० वर्षीय वृद्ध बेपत्ता


सोमबार, असार १४ २०७८
955
Shares


बागलुङको गलकोट नगरपालिकाका एक वृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता भएका छन्।

गलकोट–६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी यही असार १० गतेदेखि सम्पर्कविहीन छन्।

बुढाथोकी घरदेखि केही माथि रहेको खरबारीमा घाँस काट्न गएको र सोही स्थानबाट हराएको परिवारले जनाएको छ। हँसिया, खुर्पेटो, पानी कागज साथमा घाँस बाँध्ने डोरी र बोक्ने नाम्लो लिएर घरबाट गएका उनलाई त्यसयता निरन्तर खोजी कार्य जारी राखिए पनि फेला पार्न नसकिएको स्थानीयवासी बेलुकाजी थापाले बताए।

जिल्ला सुरक्षा संयन्त्रको समन्वयमा पोखराबाट कुकुरसहितको प्रहरीको विशेष प्राविधिक टोली झिकाएर शनिबारदेखि खोजी कार्यलाई थप तीव्र पारिएको छ।

पोखराबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा ‘रेस्क्यू र क्याकर डग’ सहितको प्राविधिक टोलीले खोजी कार्य थालेको छ।

बुढाथोकीले लगाएका कपडा सुँघाएर र उनी गएको स्थानलाई पछ्याएर कुकुर परिचालन गरेर खोजी कार्य जारी राखिएको प्रहरी नायब निरीक्षक विक्रमबहादुर थापाले बताए।

दुई कुकुरले फरक—फरक जिम्मेवारीअनुसार काम गर्नेछन्। जिल्ला प्रशासन र प्रहरी कार्यालयबाट समेत प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षक सहितको टोली पनि घटनास्थलमा पुगेको छ।

पहिलो कुरा अवस्था पत्ता लगाउनु नै रहेको र त्यसपछि मात्रै थप कारणबारे अनुसन्धान अघि बढाइने थापाको भनाइ छ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार