गोरखा । पालुङटार नगरपालिका १ आहालेमा छिमेकीको आक्रमणबाट दुई जना घाइते भएका छन् । खानेपानीको विषयमा विवाद हुँदा छिमेकी ईश्वर कुमालको प्रहारबाट सीतामायाँ कुमाल र सुस्मिता कुमाल घाइते भएका हुन ।
ईश्वरले दुबै आमा छोरीलाई खन्तीले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ । ‘उहाँहरु छिमेकी मात्र होइन आफन्त पनि हुनुहुँदो रहेछ । तर खानेपानीको विषयमा लामो समय देखि विवाद पनि रहेछ ।
त्यहीँ निउमा आइतबार बिहान ४ः३० घटना भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले जानकारी दिए । फलामको गल जस्तो देखिने खन्तीले टाउको प्रहार गरिएकाले उनीहरु दुबै गम्भिर घाइते भएका छन् ।
उनीहरुको जिल्ला अस्पताल गोरखामा प्राथमिक उपचार गरी भरतपूर रिर्फर गरिएको छ । अहिले छोरी सुस्मिताको अबस्था सामन्य रहेको र आमाको सीतामायाँ खतरामुक्त रहेपनि अबस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उक्त घटनामा संग्लन ५४ बर्षका इश्वर कुमाललाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ ।