काठमाडौं । युरोकपको राउन्ड अफ १६ को दोस्रो दिनको दोस्रो खेलमा आज विश्व नम्बर एक बेल्जियम र पोर्चुगल भिड्दै छन्।
खेल ला कार्टुजा स्टेडियम सेभियामा नेपालि समयअनुसार मध्यराति पौने १ बजे हुनेछ। आजको खेलको विजेताले क्वार्टरफाइनलमा आगामी शुक्रबार इटालीसँग खेल्नेछ।
बेल्जियम समूह ‘बी’को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो। युरोकपमा अपराजित रहेको बेल्जियम सोही लयलाई निरन्तरता दिन चाहन्छ भने समूह ‘एफ’को तेस्रो स्थानमा रहेर पनि अन्तिम १६ मा पुगेको पोर्चुगल समूह चरणको प्रदर्शनलाई बिर्सिँदै सुखद सुरुवात गर्न चाहन्छ।
बेल्जियमको टोलीमा रोमेलु लुकाकु, केभिन डि ब्रुयनजस्ता फरवार्ड छन्। रोमेलु लुकाकुले युरोकपमा ३ गोल गरेका छन्। यता लगातार कीर्तिमानी प्रदर्शन गर्दै आएका फरवार्ड क्रिश्चियानो रोनाल्डो पोर्चुगलको मुख्य हतियार हुन्।
रोनाल्डोले युरोकपमा हालसम्म ५ गोल गर्दै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन्। उनले एक असिष्ट प्रदान गरेका छन्। पोर्चुगल र बेल्जियमबीच हालसम्म १८ खेलमा भेट भएको छ। यी भेटमा पोर्चुगलले ६ खेलमा जित निकालेको छ। ५ खेल भने बेल्जियमले आफ्नो पक्षमा पारेको छ। ७ खेल बराबरीमा टुंगिएको छ।
युरोकपमा मात्रै यी दुई टोलीबीच ६ पटक भेट भएको छ। यी ६ भेटमा पोर्चुगलले २ खेलमा जित निकालेको छ भने २ खेल गुमाएको छ। दुई खेलमा भने बराबरीको नतिजा आएको छ।