काठमाडौं । आफूहरुलाई सेवाबाट हटाउन लागिएको भन्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका १०६ जना इन्जिनियर र सब—इञ्जिनियरहरू पक्राउ परेका छन्।
शुक्रबार दिउँसो उनीहरुलाई माइतीघर मण्डलाबाट नियन्त्रणमा लिएका हुन् ।

निषेधाज्ञा जारी रहेको अवस्थामा भिड गरेर प्रदर्शन गर्न पुगेपछि उनीहरूलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।
भूकम्पपछि पुनर्निर्माण प्रधिकरणमा नियुक्ति भएका इन्जिनियर तथा सब—इन्जिनियरहरूले आफ्नो करार अवधि थप गर्न माग गर्दै आन्दोलन थालेका थिए।
दुई वर्षअघि प्राधिकरणले उनीहरूको करार सेवा अवधि थपेको थियो।
फेरि सेवा अवधि थपिनुपर्ने माग राख्दै इन्जिनियरहरू प्रदर्शन गर्न माइतीघर पुगेका थिए। तर, त्यहाँबाट प्रहरीले नियन्त्रणमा लिएर उनीहरूलाई नगर प्रहरी कार्यालयमा राखेको छ।
