गोरखा । गोरखा नगरपालिकाले १ अर्ब ५ करोडको बजेट प्रस्तुत गरेको छ । आर्थिक बर्ष २०७८/८९ का लागि नगरपालिकाले बिभिन्न शिर्षकमा खर्च गर्ने गरी सो बराबरको बजेट ल्याएको हो ।
बिहिबार नगरप्रमुख राजनराज पन्तको अध्यक्षतामा भएको आठौ नगरसभाले नीति तथा कार्यक्रमसहित बजेट सार्वजानिक गरेको छ । कार्यक्रममा नगरप्रमुख पन्तले नीति तथा कार्यक्रम र उपप्रमुख विना कुमारी श्रेष्ठले बजेट प्रस्तुत गरेका थिए ।
जसमा नगरपालिकाले बित्तिय समानिकरण अनुदान तर्फ २३ करोड ४९ लाख र सर्शत अनुदानबाट ३३ करोड ४६ लाख, प्रदेश सरकार वित्तिय समानिकरण अनुदान ३ करोड ४ लाख २५ हजार, सशर्त अनुदान ५० लाख आय अनुमान गरेको छ ।
त्यस्तै राजश्व बाँडफाँड, विद्युत रोयल्टी, आन्तरिक आम्दानी, लागत सहभागीता, सामाजिक सुरक्षा लगायत गरी १ अर्ब ५ करोड १ लाख २२ हजार ७ सय ३५ रुपैया बराबरको अनुमानीत बजेट प्रस्तुत गरिएको हो ।
गत वर्ष नगरपालिकालाई राजश्व, बिभिन्न अनुदान, आन्तरिक स्रोत गरी एक अर्व सात करोड ४८ लाख प्राप्त भएको बताइएकाे छ । उक्त रकम मध्ये पुँजीगत तर्फ करिब ५३ र चालु तर्फ ६० प्रतिशत खर्च भएको छ । असार मसान्त सम्म पुजिँगत खर्च करिब ८० प्रतिशत पुग्ने अनुमान नगरपालिकाको छ ।
नगरपालिकाले आगामी बर्षका लागि नगरयोजना अन्तरगतको शर्षिकमा १८ करोड ९ लाख बजेट बिनियोजना गरेको छ । जसमा भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको छ । यसैगरी वडातर्फ नगरक्षेत्रभर रहेका १४ वटै वडालाई ९० लाखका दरले बजेट बिनियोजन गरिएको छ । वडा अन्तरगतको बजेटमा वडा कार्यालयले सिफारिस गरेका योजनाहरु समेटिएका छन् ।
यसैगरी सामाजिक शाखा तर्फ १ करोड ७८ लाख ९६ हजार, स्वास्थ्यमा १ करोड ३० लाख ५६ हजार रुपैया विनियोजन भएको नगरप्रमुख पन्तले जानकारी दिए ।
त्यस्तै शिक्षा, यसवा तथा खेलकुद तर्फ १ करोड ९५ लाख ९० हजार, वन बाताबरण, सरसफाई तथा विपद ब्यवस्थापनमा १ करोड १९ लाख ५० हजार, सुचना प्रविधीतर्फ २५ लाख, पशु सेवा तर्फ ७० लाख ६२ हजार रुपैया विनियोजन गरिएको उनले बताए ।
त्यस्तै गोरखा नगरपालिकाले आगामी बर्ष कोभिड १९ को माहामारीबाट प्रभावित नगरबासीको जिबन रक्षा गर्न र जनजिवनलाई सामान्यीकरण गर्न बजेटमा प्राथमिकता दिएको जनाएको छ ।
नीति कार्यक्रम र बजेटमा स्वास्थ्य पूर्वाधारको बिकास र बिस्तार, कृषि क्षेत्रको आधुनिकिकरण, गुणस्तरीय भौतिक पूर्वाधार निर्माणमा जोड, गुणस्तरीय शिक्षाको बिकास लगायतलाई जोड दिइएको प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्तले जानकारी दिए ।