• आइतबार, असोज ११ २०८३

एउटी महिलाले एकै पटकमा १० बच्चा जन्माएको कुरा झुठो


बिहिबार, असार १० २०७८
495
Shares


काठमाडौं ।दक्षिण अफ्रिकामा एक जना महिलाले एकै पटकमा १० वटा बच्चा जन्माएको कुरा झुठो सावित भएको छ।

यसअघि जुन पहिलो साता दक्षिण अफ्रिकी सञ्चारमाध्यमहरूले ३६ वर्षीया गोसियामी थामारा सितहोलले प्रिटोरियाको एक अस्पताल सात छोरा र तीन छोरीलाई जन्म दिएको समाचार प्रकाशन गरेका थिए।

गाउटेङ प्रान्तको सामाजिक विकास विभागले पनि ती महिलाले १० सन्तान पाएको पुष्टी गरेको थियो।

थामाराका आफन्तहरूले दिएको विवरणलाई आधार मानेर प्रतिष्ठित अन्तर्राष्ट्रिय मिडियाहरूमा पनि यसबारे समाचार छापिएका थिए।

पछिल्लो समय अनुसन्धानबाट ती महिला केही समयअघि गर्भवती पनि नरहेको र उनको शरिरमा शल्यक्रियाबाट बच्चा जन्माएको कुनै खत पनि नदेखिएको खुलेको छ।

एउटा रिटेलस्टोर म्यानेजरको काम गर्ने गोसियामीले यसअघि पनि जुम्ल्याहालाई जन्म दिएकी थिइन्। एकैचोटी जन्मेका १० बच्चालाई आफू र श्रीमानले हुर्काउन नसक्ने भन्दै उनले सहयोगको अपिल गरेकी थिइन्।

उनीहरूका लागि झन्डै ७० हजार अमेरिकी डलर सहयोग जुटेको थियो।

संसारमै नभएको कुरा आफ्नो देशमा भएपछि दक्षिण अफ्रिकाका अधिकारीहरूले यो घटनामा अनुसन्धान थालेका थिए।

बिबिसीका अनुसार अनुसन्धान गर्दा गाउटेङ प्रान्तका कुनै पनि अस्पतालमा एउटै महिलाले १० बच्चा जन्माएको रेकर्ड भेटिएन।

अधिकारीहरूले अहिले ती महिलाको मानसिक स्वास्थ्य परीक्षण गरिरहेको जनाएका छन्।
उनी र उनका श्रीमानले किन यस्तो झुठो विवरण दिए भन्नेबारे खुलिसकेको छैन। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार