गोरखा । निषेधाज्ञाको उलंघन गरी सवारी चलाएका दुई चालक कारवाहीमा परेका छन् । समाजिक सञ्जालमा विज्ञापन गरेर काठमाण्डौं–गोरखा यात्रु ओसार्ने भीमसेन थापा गाउँपालिका–५ वगुवाका सुनिल श्रेष्ठ र नुवाकोटको शिवपुरी गाउँपालिकाका सन्तोष पाण्डेलाई प्रहरीले कारवाही गरेको हो । कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमाजिम उनीहरुलाई जनही १०/१० हजार जरिवाना तिराइएको प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले बताए ।
फेसबुकमा सूचना जारी गर्दै यात्रु बोक्ने हरियो नम्वर प्लेटको बा १ य १४५६ र बा १७ च २८९३ नम्वरको स्कारपियोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यात्रु बोकेर काठमाण्डौ गोरखा आउदै/जादै गरेका उनीहरुले जिल्ला प्रशासन कार्यालय काठमाण्डौले गोरखा आउन दिएको पासको अबधी किर्ते गरेर आफैले थपको पनि पाइएको छ ।
पासको दुरुपयोग गर्दै यात्रु बोकेको र प्रति यात्रु दुई हजार भाडा लिएको खुलेपछि आवश्यक कारवाहीका लागी प्रशासनमा पठाइएको थियो । प्रशासनले बुधबार जरिबाना तोकेको हो ।
जिल्लामा निषेधाज्ञा जारी भएपनि कागजात मिलाएर यात्रु ओर्साने गिरोह सक्रिय देखिन्छ । सार्वजानिक यातायात बन्द भएको मौका छोपी निजि सवारी धनीले जनतालाई ठग्ने काम गरेको आरोप छ ।
त्यस्ता सवारी साधनलाई कारावाहीको दायरामा नल्याए आफूहरु पनि सवारी साधन लिएर सडकमा आउन बाध्य हुने सार्वजानिक यातायात व्यवासायीहरुले चेतावनी दिएका छन् । लामो समय देखि सार्वजानिक यातायात बन्द हुँदा उनीहरुको व्यवसाय धरासायी भएको गुनासो छ ।