काठमाडौं । युरो कपअन्तर्गत आज बुधबार समूह चरणका अन्तिम खेल हुँदै छन्। आज हुने समूह ‘ई’ र ‘एफ’को खेलपछि अन्तिम १६ को समीकरण पूरा हुनेछ।
आज समूह ‘ई’का स्विडेन र पोल्यान्ड तथा स्लोभाकिया र स्पेन भिड्नेछन्। यो खेल राति पौने १० बजे हुनेछ। समूह ‘एफ’को खेलमा जर्मनी र हंगेरी तथा पोर्चुगल र फ्रान्स खेल्नेछन्। यो खेल मध्यराति पौने १ बजे हुनेछ।
समूह ‘ई’को दोस्रो स्थानमा रहेको स्लोभाकियाले तेस्रो स्थानको स्पेनसँग खेल्दै छ। सेन्ट पिटर्सबर्ग स्टेडियममा हुने खेलमा दुवै टोली जितको लागि मैदान उत्रिनेछन्। समूहको दोस्रो स्थानमा रहेको स्लोभाकिया स्पेनलाई पराजित गर्दै नकआउट चरणको प्रवेश गर्न चाहन्छ। आजको खेलमा पराजित भएमा स्पेनको अघिल्लो चरणको सम्भावना सकिनेछ।
युरोकपको अन्तिम १६ मा स्थान बनाइसकेको स्विडेनले आज पुछारको पोल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ। समूह विजेता बन्दै नकआउट चरणमा जानका लागि स्विडेनलाई जित्नैपर्ने दबाब छ। आजको खेलमा हार वा बराबरीले मात्रै पनि समूह उपविजेता बन्नेछ। पोल्यान्ड भने आजको खेलमा बराबरी या हारले पनि अन्तिम १६ मा पुग्ने सपना सकिनेछ।
समूह चरणको अन्तिम खेलमा जर्मनीले चिरप्रतिद्वन्द्वी हंगेरीसँग खेल्दै छ। आजको खेलमा हार वा बराबरीले मात्रै पनि जर्मनीको अघिल्लो चरण पुग्ने सम्भावना कठिन बन्नसक्छ। यता हंगेरी पनि बलियो टोली जर्मनीलाई हराउँदै अन्तिम १६ मा पुग्ने सम्भावना जीवित राख्न चाहन्छ।
अन्तिम १६ मा स्थान बनाइसकेको फ्रान्सले आज पोर्चुगलसँग खेल्दै छ। पोर्चुगललाई पराजित गर्दै फ्रान्स समूह विजेताको रुपमा नकआउट चरणमा पुग्न चाहन्छ। यता १ खेलमा जित र एक खेल गुमाएको पोर्चुगल आज फ्रान्सलाई हराउँदै समूह विजेताको रुपमा अघि बढ्न चाहन्छ। बराबरीले पनि पोर्चुगलको अघिल्लो चरण जाने सम्भावना जीवित छ।