काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार प्रहरीको भर्ना प्रक्रियामा निजी क्षेत्रको संलग्नतालाई स्वीकार गरेको छ ।
सरकार–सरकार (जीटूजी) मोडल अपनाउने कि म्यानपावर कम्पनी (निजी क्षेत्र) मार्फत कतारको प्रहरी सेवामा नेपाली पठाउने भन्ने विवाद थियो । अब कतार प्रहरीका लागि निजी क्षेत्रले छनोट गरी पठाउने छ ।
आकर्षक सेवासुविधा भएकाले कतारी प्रहरीमा जाने युवासँग आर्थिक शोषण हुन सक्ने भन्दै सरकारले जीटूजी मोडलमार्फत भर्ना प्रक्रिया अगाडि बढाउनुपर्ने लबिइङ गर्दै आएको थियो । कतारले विश्वकप फुटबललाई लक्ष्य गरी झन्डै १० हजार नेपालीलाई प्रहरीमा भर्ना गर्ने जनाएको छ ।
कतार प्रहरी सेवामा भर्ती हुनका लागि भने उमेर २५ देखि ३६ वर्षसम्म र उचाइ ५।८ फिट हुनुपर्ने छ । करार अवधि ५ वर्ष तोकिएको छ । तालिमको समयमा तीन हजार रियाल र तालिम सकेपछि ६ हजार रियाल पारिश्रमिक पाउने बताइएको छ ।
कतारमा पहिलो चरणमा गत वर्ष फागुनमा १ सय ७९ जना लगिएको थियो ।