काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले विभिन्न देशमा अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरे पनि मन्त्रिपरिषदमा अड्किएको छ।
गत बुधबार सीसीएमसीको बैठकले यात्रु बढी आउजाउ गर्ने मुख्य गन्तव्यहरुमा उडान खोल्ने निर्णय गरे पनि मन्त्रिपरिषदमा अझै छलफलकै क्रममा रहेको छ।
प्रधानमन्त्री ओली अध्यक्ष रहेको सीसीएमसीले उडान खोल्ने निर्णय गरेको करिब १ हप्ता हुँदा पनि मन्त्रिपरिषदले निर्णय गरेको छैन। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदमा अन्तर्राष्ट्रिय उडान खोल्ने प्रस्ताव लगे पनि निर्णय नभएको बताएको छ।
सरकारले यसअघि नै ४ देशमा उडान खोल्ने निर्णय गरे पनि ३ देशमा नियमित उडान भइरहेको छ। हाल भारत, कतार र टर्कीमा नियमित उडान भैरहेको छ ।
मन्त्रालयले अहिले उडान भइरहेको गन्तव्यमा उडान थप गर्नुपर्ने र नयाँ गन्तव्य खोल्नुपर्ने प्रस्ताव लगेको छ अब भने मलेसिया, साउदी अरब, युएई, ओमान, कोरिया र जापानमा सीमित उडान गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगिएको हो ।
मन्त्रिपरिषदको बैठक प्रायः सोमबार र बिहीबार बस्दै आएको छ। मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा गइसकेकोले अबको बैठकले निर्णय गर्ने बताएको छ ।