गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका ३ को सल्लेरीका बाढी प्रभावितलाई बितरण गर्न हेलिकप्टरमार्फत राहत ढुवानी गरिएको छ ।


माउन्टेन चाईल्ड नामक संस्था, सिम्रिक एयरलाईन्सको सहयोगमा प्रशासन कार्यालय, गैरसरकारी संस्था महासंघ, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गोरखाको समन्वयमा संकलन गरिएको राहत सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिएको हो ।
बाढीबाट घर बगाएका पाँच घरधुरी र बिस्थापित भएका २१ धुरीलाई उक्त सामग्री बितरण गरिने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
गोरखा सदरमुकामबाट हेलिकप्टरले ४८ बोरा चामल, ६० लिटर तेल, एक सय २० किलो दाल, सय किलो नुन ढुवानी गरेको हो । त्यस्तै औषधी, हाईजिन किट, स्तरीय टेन्ट पनि ढुवानी गरिएको छ ।
