अनुहारमा ढुसी लागेको अवस्थामा डडेलधुरामा एक महिलाको शव फेला परेको छ।
परशुराम नगरपालिका वडा नम्बर ८ की करिब २७ वर्षकी अस्मितादेवी धामीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिए।


उनको शव हट्यानी सामुदायिक वनमा शनिबार फेला परेको हो। पानी परेकोले शवमा ढुसी परेको प्रहरी निरीक्षक चन्दले बताए।
‘अनुहारमा चोट लागेको देखिँदैन, पानी परेकोले हुनुपर्छ शवमा ढुसी लागेको छ,’ उनले भने।
उनी जमरानी स्वास्थ्य चौकीमा कार्यलय सहयोगीको काम गर्थिन्। त्यहाँबाट खोपका बट्टा लिएर उनी गत बुधबार २ गते जोगबुडा अस्पताल जाँदै थिइन्।
स्वास्थ्य चौकीबाट अस्पताल पुग्न हट्यानी सामुदायिक वनको बाटो हुँदै जानुपर्ने प्रहरीले बताएको छ।

‘उहाँ खोप लगाएर सकिएको बट्टाहरू लिएर अस्पताल जाँदै हुनुहुन्थ्यो। हामीले खोपका बट्टाहरू पनि फेला पारेका छौं,’ प्रहरी निरीक्षक चन्दले भने।
बुधबार अस्पताल गएकी अस्मितादेवी धामी सम्पर्कबिहीन थिइन्। सम्पर्कबिहीन भएपछि गत शुक्रबार प्रहरीलाई खोजी गरिदिन भनेर परिवारले उजुरी गरेका थिए।
खोज्ने क्रममा शनिबार उनको शव फेला परेको हो।
अहिले धामीको शव जोगबुडा अस्पतालमा पोष्टमार्टम भइरहेको छ। उनको पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले बताएको छ।
यस घटनामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक र संघीय प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षकको टोली पनि खटिएको छ।

अनुसन्धानमा प्राविधिक सहयोग चाहिन सक्ने भन्दै टोली खटिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले बताए।