गोरखा । गोरखाबाट लक्षित बर्गलाई लगाएर बाँकी रहेको २८ भाइल कोरोना भाइरसबिरुद्धको (कोभिसिल्ड) खोप प्रदेशमा फिर्ता पठाएको छ ।


तोकिएको उमेर समूहलाई लगाएर फिर्ता भएको खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पठाएको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएकाे छ ।
१ भाइल बराबर १० डोज खोप हुन्छ अर्थात २ सय ८० डोज खोप प्रदेशमा फिर्ता पठाएको हो । जिल्लामा लक्षित वर्गलाई लगाउनका लागी भनेर प्रदेशबाट ४ हजार डोज खोप उपलब्ध भएको थियो ।
त्यसमध्ये ३४ सय ७६ जनाले मात्र खोप लगाएका थिए । जिल्लामा जेठ ७ गते देखी ११ गते सम्म लक्षित वर्गलाई खोप लगाएको थियो ।

बाँकी खोप ६५ वर्ष माथीका उमेर समूहलाई लगाँउदा पनि फिर्ता आएको खोप केन्द्रलाई पठाएको कार्यालयका कोल्डचेन निरिक्षक ऋषीराम खत्रीले बताए ।
प्रदेशले विभिन्न चरणमा पठाएको र खपत हुन नसकेको खोप फिर्ता गर्न स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जेठ २४ गते पत्र पठाएको थियो ।
सोही अनुसार बचेको खोप लगाउन लक्षित वर्ग किटान हुन नसक्दा फिर्ता पठाएको निरिक्षक खत्रीले जानकारी दिए ।
