चितवन । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ ।
नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुग्दा सोही समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो ।
नारायणी बेसिन कार्यालय भरतपुका अनुसार सन् १९७४ अगष्ट ५ मा नारायणीको जलस्तर १० दशमलव एक मिटर र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो । सोही १० दशमलव एक मिटरलाई विगतमा उच्च विन्दु मानिँदै आएको थियो । सो विन्दुको रेकर्ड गए राति तोडिएको हो ।
सन् १९६३ देखि हालसम्मको तथ्याङ्कलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सबैभन्दा बढी पानी यस वर्ष परेको देखिन्छ । नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ । यसको चेतावनी तह सात दशमलव तीन मिटर र आठ हजार ४६० घनमिटर प्रतिसेकेण्ड रहेको छ ।
तटीय क्षेत्रबासीलाई औषधि, खाद्यान्न र महत्वपूर्ण कागज झोलामा तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ। नारायणीका कारण भरतपुर महानगरपालिका वडा नम्बर १६, २६, २७ र २८ र राप्ती नदीबाट वडा नम्बर २२ र २३ मा बढी असर पर्ने गरेको छ।