काठमाडौं । नेपालमा मनसुन भित्रिएको मौसमविद्ले बताएका छन्।
अहिले काठमाडौं उपत्यकालगायत स्थानमा मुसलधारे वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले शुक्रबार दिउँसो जारी गरेको विशेष मौसम बुलेटिनअनुसार आज जेठ २८ गतेबाट प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा मनसुन भित्रिएको हो।
अब एकरदुई दिनभित्रै मनसुन देशैभर फैलिने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम महाशाखाद्वारा जारी विशेष मौसम बुलेटिनमा सचेत गराउँदै भनिएको छ– ‘आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, केही स्थानहरूमा भारी वर्षा र थोरै स्थानहरूमा धेरै भारी वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’
मनसुन भित्रिएसँगै आजबाट वर्षायाम सुरु भएको छ। यसपटक औसतभन्दा धेरै वर्षा हुने अनुमान गर्दै बाढी, पहिरो, डुबानबाट सुरक्षित रहने तयारी गर्न मौसमविद्ले यसअघि नै सुझाव दिइसकेका छन्।
