काठमाडौं । शुक्रबार सामाजिक सञ्जालमा भाइरल एउटा भिडियोमा एक युवकलाई डोरीले बाँधेर कुटपिट गरिरहेका छन् ।
युवतीलाई प्रेम पत्र पठाएको आरोपमा रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का विकास पासवान माथि कुटपिट भएको हो । कक्षा ११ मा पढ्ने उनलाई बाँधेर कुटपिट गर्ने वडा नम्बर ४ बस्ने किन्सीदेव गिरी हुन् ।


किन्सीदेवसँगै उनका छोराहरु सन्तोष गिरी, छोटु गिरीलगायतको समूहले बाँधेर पिटेको प्रत्यक्षदर्शीले बताएका छन् । यो घटना बिहीबारको हो।
पासवानमाथि लठ्ठीले पिँडुला, ढाडलगायतमा कुटपिट गर्दा गाउँलेहरू भने हेरिरहेका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक शिद्धिविक्रम शाहका अनुसार घटनाबारे बुझ्न प्रहरीले दुवै जनालाई कार्यालयमा बोलाएको बताए ।

‘युवतीलाई प्रेमपत्र पठाएको विषयमा कुटपिट भएको भन्नेछ। हामी थप बुझ्दैछौं,’ उनले भने।
पासवानले राजदेवकी छोरीलाई भने प्रेम पत्र पठाएका थिएनन्। ‘कुट्ने मान्छेकै छोरी होइन। अर्कैकी छोरीलाई पठाएको हो। अलि जान्नेमान्ने गाउँका नेता खालका मान्छे रहेछन्,’ उनले भने, ‘कुटपिटबाट युवकको शरीरमा निलडाम बसेको छ।’
प्रहरीले यस घटना सम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।
