गोरखा । गोरखा बजार क्षेत्रका औषधी पसलहरुको अनुगमन गरिएको छ । बिहिवार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा बजार क्षेत्रका १६ वटा औषधी पसलको अनुगमन गरिएको हो ।


सो क्रममा तीन रुपैयाँ पर्ने सामान्य खालको सर्जिकल मास्कलाई १० रुपैयाँमा बिक्री गर्ने गरेको भेटिएको सहायक प्रजिअ कमलराज भण्डारीले जानकारी दिए ।
उनले भने, ‘आफ्नो परेको मूल्यमा २० प्रतिशत सम्म नाफा राखेर ब्यापारीले बिक्री गर्न पाउँछन्, त्यस्ता मास्क १० रुपौयाँमा बिक्री गर्दा २० प्रतिशत भन्दा बढी नाफा हुने देखियो।’ त्यो महँगो भएकाले अनुगमनका क्रममा औषधी पसललाई मास्क ५ रुपौयाँमा बिक्री गर्न निर्देशन गरिएको उनले बताए ।

अनुगमन गरिएका औषधी पसलहरु मध्ये सातवटाले कागजपत्र पूरा नगरेको, औषधी ब्यवस्था बिभागमा दर्ता नगरेको, नगरपालिकामा दर्ता नगरेको, कतिपय आन्तरिक राजस्व कार्यालयमा दर्ता नभएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश भट्टराईले बताए ।
कागजपत्र पूरा नभएकालाई आइतवार प्रशासन कार्यालय बोलाएका पूरा गरी ब्यवशाय गर्न निर्देशन दिएको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय, गोरखा नगरपालिका, घरेलु कार्यालय, स्वास्थ्य कार्यालयका प्रतिनिधि सहितको टोली सहभागी थिए ।
