• बिहिबार, साउन १४ २०८३

बेलायती पत्रिकामा ‘नेपाल भेरियन्ट’ बारे हावादारी खबर


बिहिबार, जेष्ठ २० २०७८
880
Shares

काठमाडौं । बेलायतको ट्याब्लोइड पत्रिका डेली मेलले नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट भेटिएको भनेर हावादारी खबर प्रकाशन गरेको छ।

मेलको बिहीबारको संस्करणमा प्रथम पृष्ठमै नेपाल भेरियन्टका युरोपभरि फैलिएको उल्लेख छ। वैज्ञानिकहरूले सरकारलाई निकै संक्रामक रहेको भनिएको उक्त भेरियन्टबारे जानकारी दिएकाले विदा मनाउन जानेहरूलाई समस्या परेको मेलले लेखेको छ।

उक्त समाचारमा नेपालमा कहिले नयाँ भेरियन्ट फेला पर्‍यो र त्यो युरोपमा कसरी फैलियो भन्नेबारे खुलाइएको छैन। पछिल्लो समय विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नयाँ भेरियन्ट भेटिए त्यसको ग्रिक अल्फाबेट अनुसार राख्ने निर्णय गरिसके पनि मेलले भेटिएको पुष्टि नभएको भेरियन्टलाई नेपाल भेरियन्ट नाम दिएको हो।

मेलको उक्त समाचार अन्य बेलायती पत्रिका र अनलाइनहरूले ‘क्यारी’ गरेपछि अहिले यसबारे चासो बढेको छ।

सरकारले भने अहिलेसम्म नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको पुष्टि नभएको बताएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि नभएको बताएका छन्। उनले नेपालमा हालसम्म बेलायतमा देखिएको अल्फा र भारतमा देखिएको डेल्टा भेरियन्ट पुष्टि भएको भन्दै त्योभन्दा नयाँ भेरियन्ट पत्ता नलागेको बताएका हुन्।

’त्यो समाचार हामीले पनि पढ्यौं। म आफैं ’इन्टरनेशनल हेल्थ रेगुलेसन’ को फोकल पर्सन भएका हिसाबले नेपालबाट गएकाहरूमा नयाँ भेरियन्ट भेटिए उहाँहरूले खबर गर्नुहुन्छ,’उनले भने।

उनले बेलायतका फोकल पर्सनलाई यसबारे इमेल पनि पठाएको भन्दै त्यसबारे आधिकारिक जनाकारी नआएको बताए। तर हालसम्म नेपालले गरेको जीन सिक्वेन्सिङमा बेलायत र भारतमा देखिएको भेरियन्ट मात्र फेला परेको डा. पौडेलले जनाए।

विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ ले पनि नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको बारे आफू जानकार नभएको जनाएको छ।‘डब्लुएचओ’को नेपालस्थित कार्यालयले ट्विट गर्दै नेपालमा सार्स—कोभ—२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा आफू अवगत नभएको उल्लेख गरेको छ।

‘नेपालमा रहेका भेरियन्टहरू अल्फा(बी.१.१.७), डेल्टा(बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) हुन्। यी तीनमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा हो,’ ट्विटमा भनिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार