एकल महिलाहरुको तत्कालिन सवालहरुलाई सम्बोधन गर्नका लागि मानव अधिकारका लागि एकल महिला (एकल महिला समूह) ले सरकारसमक्ष अपिल गरेको छ ।
समूहले एक अपिलपत्र जारी गर्दै एकल महिलाका सवालहरुलाई सम्बोधनका लागि ६ बुँदे माग राखेको छ ।
समूहले संविधानको धारा १६ को सम्मानपूर्वक बाँच्न पाउने हक, धारा ३५ को स्वास्थ्यसम्बन्धी हक र धारा ३६ को खाद्य सम्बन्धीको हकलाई प्रत्याभूति दिलाउन पनि सरकारसमक्ष अपिल गरिएको छ ।
विश्वव्यापी कोभिड-१९ का कारण भोकमरीविरुद्धको लडाईमा रहेका एकल महिलाहरु कोरोना भाइरस संक्रमित भई उपचारका क्रममा आर्थिक संकटमा पर्दै गइरहेको भन्दै एकल महिलाका सवालहरुलाई सम्बोधनका लागि तीनै तहका सरकारसमक्ष माग गरिएको एकल महिला समूहकी सरिता लामिछानेले बताएकी छिन् ।
योग्यता, शिक्षा, रोजगारी तथा सम्पति माथिको न्यून पहुँच भएका एकल महिलाहरु अहिलेको अवस्थामा झन बढि जोखिममा पर्दै गएको भन्दै उनीहरुको निशुल्क पिसिआर परीक्षण गरी संक्रमित पाइएमा सरकारी तथा गैरसरकारी अस्पतालहरुमा निश्चित रकम छुट गराउन सरकार समक्ष माग राखेको छ ।
यस्तै गरिव तथा विपन्नताको जोखिममा परेका एकल महिलाहरुको पहिचान गरी स्थानीय निकायहरुले यथाशीघ्र राहत उपलब्ध गराउन, एकल महिला र तिनका आश्रित परिवारका सदस्यलाई खोपको व्यवस्था गर्न तथा मनोसामाजिक परामर्श र एकल महिलाका आमा गुमाएका बालबालिकाको अभिलेखिकरण राखि उनीहरुको यथाशिघ्र पुनस्र्थापना लगायतका माग राखेको छ ।
