
गोरखा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गोरखाले अनलाइन परिक्षाको बाहानामा कुनै प्रकारको अतिरिक्त शुल्क नलिन आफू मातहतका विद्यालयलाई आग्रह गरेको छ ।
मंगलबार एक अपिल जारी गर्दै प्याब्सन गोरखाले अनलाइन परिक्षाको नाममा कुनै शुल्क नलिन र यस्तो असहज परिस्थितीमा मासिक शुल्क समेत तिर्न तत्काल अभिभावकलाई बाध्य नबनाउन आग्रह गरेको हो ।

सोमबार सिभिलखबरले गोरखा नगरपालिका ८ बराह स्थित फुलबारी पाठशालाले अनलाइन परिक्षाको नाममा शुल्क उठाइरहेको समाचार प्रकाशन गरेपछि आज प्याब्सनले अपिल प्रकाशित गर्दै जिल्लाभरका संस्थागत विद्यालयलाई तत्काल कुनै प्रकारका आर्थिक कारोबार नगर्न र नगराउन अनुरोध गरेको हो ।

अध्यक्ष सीताराम तिवारीद्धारा हस्ताक्षरित अपिल पत्रमा भनिएको छ ‘पूरै गोरखा जिल्लामा निषेधाज्ञा र विद्यार्थी, अभिभावक, शिक्षकहरु घरघरमा सुरक्षित तवरले बस्नुपर्ने र बसेको अवस्थामा पनि केहि अभिभावकहरुले निषेधाज्ञाको समयमा पनि अभिभावक र विद्यार्थीहरुलाई अनलाइन परिक्षाका बाहानामा अनिबार्य शुल्क बुझाउन बाध्य पारिएको भन्ने गुनासो र जानकारी भएकाले यस विषम परिस्थितीमा सम्पूर्ण संस्थागत विद्यालयहरुले आर्थिक कारोबारमा बाध्यात्मक अवस्था सृजना नगराउनुहुन हार्दिक अपिल गरिन्छ ।’

साथै अपिलमा जिल्लाका सम्पूर्ण स्थानीय तहहरुले आन्तरिक मुल्यांकन र पूर्व परिक्षाको आधारमा अन्तिम परिक्षाको नतिजा तयार गर्न गरेको निर्णय र निर्देशनको पालना गर्न समेत आग्रह गरिएको छ ।
यता गोरखा नगरपालिकाको शिक्षा शाखाले समेत सम्बन्धित विद्यालयलाई मौखिक स्पष्टिकरण सोधिएको बताएको छ ।

‘हामीले हिजै तत्काल फोन गरेर बुझ्यौ, यस्तो बेला शुल्क बुझाउन अनिबार्य गराउनु उपयुक्त र ब्यवहारिक होइन’ शाखाका विद्यालय निरिक्षक धुव्र अर्यालले भने ‘अनलाइन परिक्षाको नाममा शुल्क लिएको भए तत्काल फिर्ता गर्न पनि निर्देशन दिएका छौ ।’
अर्यालका अनुसार नगरक्षेत्रमा सञ्चालित अन्य विद्यालयका अभिभावकहरुबाट भने यस्तो प्रकारको गुनासो र सुचना आएको छैन ।
यता सदरमुकामको पाटेचौरमा सञ्चालनमा रहेको गोरखा बोर्डिङ, सतिपिपलमा रहेको गोरखा मनकामना बोडिङ, लक्ष्मीबजारको लक्ष्मी सामुदायिक एजुकेशन एकेडेमीले भने निषेधाज्ञा हुनु अघि नै अधिकांशलाई विल पठाएकाले परिक्षा शुल्क समेत जोडिएर गएको बताएका छन् ।

‘जेठमा भनिएको परिक्षा नगरपालिकाले बैशाख २२ मा सा¥यो, हामीले अभिभावकलाई सुचना पनि ग¥यौ, विल पनि पठायौ, त्यहि अनुसार प्रश्नपत्र र अरु पनि तयारी ग¥यौ’ लक्ष्मी सामुदायिक एजुकेशन एकेडेमीका प्रअ कमल थापाले भने ‘तर बैशाख २१ बाटै निषेधाज्ञा सुरु भएपछि ति सब तयारी तुहियाे, बैशाखमै कोहि कसैले परिक्षा शुल्क समेत बुझाएको भए त्यसलाई कसरी ब्यवस्थापन गर्ने हामी बैठक बसेर निर्णय गर्छौ ।’
त्यस्तै ओल्ड क्यापिटल मावि, सेण्ट साेसेफ, सेण्ट मेरिज लगायतले भने अनलाईन परिक्षा गरेपनि अतिरिक्त शुल्क नलिएकाे दावी गरेका छन् । तर कतिपय अभिभावककाे भने यी विधालयहरुले शैक्षिक सत्र सुरुवातीमै बर्षभरीकाे परिक्षा शुल्क एकमुष्ठ लिने गरेकाे गुनासाे छ ।
