• सोमबार, असोज १२ २०८३

गण्डकी प्रदेशको बजेट नीति : महामारी नियन्त्रण पहिलो प्राथमिकता, सहारा गुमाएकालाई रोजगारी


सोमबार, जेष्ठ १७ २०७८
725
Shares

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा महामारी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउने भएको छ ।

सोमबार प्रदेशसभामा बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोभिड–१९ को उपचार गर्ने अस्पताल, अक्सिजन प्लान्ट निर्माणमा जोड दिने बताएका छन् । उनले मेडिकल सेवालाई होम आइसोलेसनसम्म पुर्‍याउने पनि बताए ।

पृथ्वीसुब्बा गुरुङ दोस्रो कार्यकालका लागि मुख्यमन्त्री नियुक्त भएपछि गठित सरकारले कोरोना र सत्ताको संकटकै बीच बजेटको तयारी गरिरहेको छ ।

वैशाख २९ गते नियुक्त भएका मुख्यमन्त्री गुरुङले जेठ २९ गतेभित्र विश्वासको मत लिनुपर्ने छ । प्रदेशसभामा प्रि बजेट छलफल सुरु भए पनि सरकारले अब विश्वासको मत लिएर मात्र नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको छ ।

नागरिकको जीवन रक्षा, पर्याप्तय औषधी–उपचारको व्यवस्था तथा प्रभावित आर्थिक–सामाजिक क्षेत्रलाई गतिशील बनाउन पुननर्जीवन कोषलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने र कोभिड–१९ महामारीको तेस्रो लहर तथा भविष्यमा आउन सक्ने अन्य विपद्का लागि पूर्वतयारी र व्यवस्थापनलाई विशेष प्राथमिकता दिइने मन्त्री मुख्यमन्त्री गुरुङले बताए ।

स्वास्थ्य पूर्वाधारहरूको विकास र विस्तार एवं पर्याप्त दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष प्राथमिकता दिइने बजेटको सिद्धान्त तथा नीतिमा उल्लेख गरिएको छ । अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्न बजेट बिनियोजन गर्ने मुख्यमन्त्री गुरुङले बताए ।

कोभिड अस्पतालहरूमा पर्याप्त अक्सिजनको व्यवस्था गर्ने अर्थमन्त्री गुरुङले बताए । कोरोना रोकथामका लागि अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अन्य राष्ट्रसेवक कर्मचारीहरूलाई प्रोत्साहनको व्यवस्था गरिने पनि बजेटको सिद्धान्त तथा प्राथमिकतामा उल्लेख छ ।

कोभिडका कारण प्रभावित व्यवसायहरूलाई जीवन्तता दिन सञ्चालित ‘व्यवसाय जीवन रक्षा कोष’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ । सरकारले कोभिड–१९ बाट प्रभावित साना व्यवसायीको जीवन रक्षाका लागि चालु आर्थिक वर्षबाट १ अर्ब रुपैयाँको व्यवसाय जीवन रक्षा कोष कार्यान्वयनमा ल्याएको छ ।

कोभिड–१९ का कारण सहारा गुमाएका परिवारलाई रोजगारी र बालबच्चाहरूको शिक्षादीक्षाको आवश्यक व्यवस्था गर्ने कार्यक्रम ल्याइने अर्थमन्त्री गुरुङले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार