काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आएको भोलि पल्ट आइतबार सेयर बजारको परिसूचक र कारोबार रकम दुवैमा नयाँ रेकर्ड बनेको छ।

यस दिन नेप्से परिसूचक अहिलेसम्मकै उच्च अंकमा पुगेर नयाँ रेकर्ड बनेको छ। आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ५४ अंकले बढेर २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेको छ । यो अंक अहिलेसम्मकै उच्च हो।
त्यस्तै कारोबार रकममा अर्को रेकर्ड बनेको छ। एकै दिन १७ अर्ब २ करोड रुपैयाँको सेयर किनबेच भएको छ। एकैदिन यति धेरै रकमको कारोबार भएको पहिलो पटक हो। यसअघि १४ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको रेकर्ड थियो।
यस दिन बैंकिङ १९, होटल तथा पर्यटन १३५, विकास बैंक २५५, फाइनानस ८३, निर्जीवन बीमा ६४, जीवन बीमा ९६ अंकले बढेका छन्।

त्यस्तै ब्यापार ३२, उत्पादन ५, अन्य ५४, माइक्रोफाइनान्स ७४ अंकले घटे। जलविद्युत र लगानी समूह भने १ अंकमुनि रातो रहे।
यस दिन १ दर्जन बढी कम्पनीका सेयर लगानीकर्ताले झण्डै १० प्रतिशत मूल्य कमाएका छन्। खासगरी विकास बैंक समूहका लगानीकर्ताले राम्रो मूल्य कमाएका छन्।
बरुण हाइड्रो र हिमालय उर्जा विकासको मूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ।
