मेलीना बराम, गोरखा । युवाहरुले सामाजिक सञ्जाल मार्फत अभियान चलाएर जम्मा गरेको रकमले गोरखाको बारपाक सुलिकोट गाँउपालिका वडा नं. ४ सौरपानीमा कोभिड अस्पताल निर्माण हुने भएको छ ।


सौरपानी स्थित हिमालयन माविको एउटा भवनमा अक्सिजनसहित पाँच बेडको कोभिड अस्पताल अर्थात आइसोलेसन सेन्टर निमार्ण हुने भएको हो ।
पछिल्लो समय समुदायस्तरमा कोरोनाको दोस्रो लहर तिब्र गतिमा फैलिरहेका र थप जोखिम समेत बढ्दै गएकाले स्थानीयको सहकार्य तथा युवाहरुले सामाजिक सञ्जाल मार्फत रकम जुटाएर पाँच बेडको आइसोलेसन निमार्ण अभियानबाट सौरपानीमै कोभिड अस्प्ताल निर्माण हुन लागेको हो ।
आइसोलेसन निमार्ण अभियानमा लागेका युवाहरुले देशविदेशमा रहेका सौरपानीबासी लगायत सहयोग दाताहरुबाट सामाजिक सञ्जाल मार्फत सहयोग जुटाएर विधालयको भवनमा आइशोलेसन निर्माण गर्न लागिएको हो।

आइसोलेशन निमार्णका लागी हालसम्म देश, विदेशमा रहेका स्थानीय, गाँउबासी तथा सहयोगदाताहरुबाट २ लाख १७ हजार आर्थिक सहयोग संकलन भएको अभियानकर्ता ईश्वर ढकालले सिभिलखबरलाई जानकारी दिए । त्यस बाहेक एक लाख बराबरको स्वास्थ्य सामग्रीहरु पनि उपलब्ध भएको उनले बताए ।
‘अहिले स्थानीयस्तरमा कोरोना संक्रमण तिव्र गतिमा फैलिरहेको छ ।’ ढकालले भने ‘नियन्त्रणमा केही हद सम्म भए पनि सहयोग पुग्ने गरी हामीलाई मास्क, सेनिटाइजर, साबुन तथा पिपिआई लगायतका स्वास्थ्य सामग्रीहरु पनि उपलब्ध भएको छ ।’ अभियानकर्ता ढकालका अनुसार आइसोलेसन निमार्णको काम लगभग सकिएकाले सञ्चालनमा ल्याउने तयारी भई रहेको बताए ।
आइसोलेसनमा एक जना अहेवसहितको एक टोली स्वस्थ्यकर्मीे संक्रमितको सेवामा खटिने उनले जानकारी दिए । ‘ आइसोलेसन निमार्णको काम लगभग सकिएको छ ।’ उनले थपे ‘अब छिटै सञ्चालनमा ल्याएर स्थानीयस्तरमा भएका संक्रमितहरुको उपचार थाल्छै ।’

त्यहाँ अकस्मत बिरामीलाई बहिर रिफर गर्नु गर्ने अवस्था आएमा स्ट्याण्डबाई एउटा एम्बुलेन्स पनि परिचालन गरिएको उनले जनाएको छ ।
अहिले महामारी नियन्त्रणका लागी सबै तह क्षेत्रका मानिसहरु लागि परेका छन् । यस्तैमा युवा वर्ग पनि सक्रिय भएर हरेक सम्भावनाहरुको खोजी गरेर कोरोना नियन्त्रण र रोकथामका लागी लडिरहेका छन् ।
‘हामीले यो अभियानको सुरुवात गाँउमा रहेका बिरामीहरुको आत्माबल बढाउनका लागी गरेका हौं ।’ उनले अघि भने ‘जहिले सम्म गाँउमा महामारीको अवस्था सामान्य हुन्न हामी अभियानलाई जारी राख्छौं ।’ ठुला ठुला अस्पतालमा अहिले बेड खाली नरहेकाले आइसोलेसनलाई ‘होल्डिङ सेन्टर’को रुपमा प्रयोग गरिने उनको भनाई छ ।
हाल सौरपानीमा ५४ जना सक्रिय संक्रमित रहेका छन् ।
