काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले शनिबार राति सन् २००७ को एएफसी एसियन कप च्याम्पियन इराकसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ।
खेलका लागि गत बुधबार विहान नेपाली टिम इराकको बस्रा पुगेको थियो। इराक पुगेको नेपाली टिमले त्यहाँ दुई दिन अभ्यास गरिसकेको छ।

नेपाल र इराकबीच त्यहाँको समयअनुसार साँझ ७ः३० मा र नेपाली समयअनुसार आज राति १०ः१५ बजे प्रतिस्पर्धा गर्दैछ।
खेल इराकको आइएमएन स्पोर्टको युट्युब च्यानलबाट लाइभ हेर्न सकिनेछ।
खेलअघि नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्धको खेलमा नतिजा भन्दा नेपाली टिमको प्रदर्शनमा ध्यान दिने बताएका छन्।
‘हाम्रो युवा टिमका लागि यो सिक्ने अवसर हुनेछ। हामी नतिजा भन्दा पनि आफूलाई जाँच्ने र भविष्यमा सुधार गर्नका लागि इराकविरुद्ध खेल्दैछौ,’ उनले भने।
नेपालका कप्तान किरणकुमार लिम्बुले इराकसँग खेल्न पाउनु ठूलो अबवसर भएको बताउँदै विश्वकप छनोटका लागि इराकविरुद्धको खेल अनुभव बटुल्ने अवसर भएको बताए।
नेपाल र इराकबीच अहिलेसम्म तीन पटक प्रतिस्पर्धा भएको छ। तीन वटै खेलमा नेपाल पराजित भएको थियो। पछिल्लो पटक सन् २००१ मा विश्वकप छनोटमा नेपाल र इराक भिडेका थिए। सो खेलमा नेपालमाथि इराकले ४—२ को जित निकालेको थियो।

एसिया र गल्फ क्षेत्रको फुटबल शक्ती इराक विश्वकप खेलिसकेको टिम हो। पूर्व एसियन च्याम्पियन इराक फिफा वरीयतामा पनि नेपाल भन्दा १०३ माथि छ। इराक वरीयतामा ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ।
इराकसँग प्रतिस्पर्धा गरेपछि नेपाली टिम स्थालमार्गबाट विश्वकप छनोट खेल्न कुवेत प्रस्थान गर्नेछ।
छनोटमा समूह ुबीु रहेको नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हात पारेको छ। चार खेलमा नेपाली टिम पराजित भइसकेको छ। नेपाल ३ अंक जोड्दै चौथो स्थानमा छ। समूहमा नेपालभन्दा पछि अंकविहीन चाइनिज ताइपेई छ।
समूहको शीर्ष स्थानमा १२ अंक जोडेको अस्ट्रेलिया छ। दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०—१० अंक छ।
नेपालले अब जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्न बाँकी छ।

नेपालले पहिलो खेल ताइपेईसँग ३ जुनमा, दोस्रो खेल जोर्डनसँग ७ जुन र तेस्रो खेल ११ जुनमा अस्ट्रेलियासँग खेल्नेछ।
नेपालले सेतो जर्सी लगाउने
नेपाली टोलीले इराकविरुद्ध सेतो जर्सी लगाएको खेल्नेछ । नेपालको सिनियर टिमले फुटबल इतिहासमा पहिलो पटक सेतो जर्सी लगाएर खेल्न लागेको अखिल नेपाल फुटबल संघले जनाएको छ ।
यसअघि नेपालले रातो र निलो रङको जर्सी लगाएर खेल्दै आएको थियो । केटिएम सिटी राष्ट्रिय टिमको नयाँ किट्स प्रायोजक बनेपछि केटिएमले नेपालको लागि नयाँ रङको जर्सी तयार पारेको हो ।
