गोरखा । कोरोना संक्रमितको उपचार सहज रुपले गर्नका लागी गोरखा अस्पतालले एचडियू र अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ ।

अस्पतालले १५ वटा सुविधा सम्पन्न एचडियू बेड जडान गरिएको साथै अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याएको हो ।
आज (शुक्रबार) एक कार्यक्रमका बीच गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार बिकास मन्त्री रामशरण बस्नेतले एचडियू बेडको उद्घाटन गरेका हुन् । त्यस्तै अक्सिजन प्लान्टको गोरखा नगरपालिकाका मेयर राजन राज पन्तले गरेका हुन् ।

अस्पताल ब्यवस्थापक लिपासा श्रेष्ठका अनुसार १५ वटा मध्ये १० वटा बेडमा प्लान्टबाट सिधै अक्सिजन ल्याउने गरी पाइपलाइन जडान गरिएको बताईन् ।
बाँकी ५ वटा बेडमा भने सिलिण्डरबाट अक्सिजन दिइने ब्यवस्थापक श्रेष्ठले जानकारी दिइन् । भुकम्पमा भत्किएको अस्पताल भबन पुन निर्माणको चरणमा भएकाले प्रदेश सरकारले २८ वटा एचडियू बेड पठाएको भएता पनि स्थान अभावका कारण सबै जडान गरिएको छैन ।

अहिले जोडिएको र बाँकी बेड नयाँ भबन बनेपछि त्यहाँ स्थानान्तरण गरेर जोडिने अस्पतालले जनाएको छ । अस्पताल निर्माण क्रममा रहेकाले क्याटिन रहेको भवनमा आइसोलेशन सञ्चालनमा ल्याएको हो ।
यो सँगै गोरखा अस्पतालमा आइसोलेशन बेडको संख्या ३० पुगेको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

गोरखा अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले अहिले जोडिएको १० वेड बाहेक एक दिनमा ४७ लिटर क्षमताको १५ देखि १८ वटा अक्सिजन सिलिण्डर भर्न सकिने गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले बताए ।
गोरखा गण्डकी प्रदेशमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउने मध्ये नौँ जिल्ला हो ।
