• बिहिबार, साउन १४ २०८३

सुत्केरीसहित अक्सिजन नपाएर गण्डकीमा थप ७ संक्रमितको मृत्यु


शुक्रबार, जेष्ठ १४ २०७८
735
Shares

पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा एक सुत्केरीसहित थप सत जनाको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन नपाएर ७ जना संक्रमितको मृत्यु भएको हो।

मृत्यु हुनेमा तनहुँका ३ जना, पोखरा, स्याङ्जा, पर्वत र म्याग्दीका १/१ जना रहेको अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर शरदचन्द्र बरालले बताए।

ज्यान गुमाउनेहरूमा शनिबार अप्रेसन गरेर सुत्केरी भएकी एक महिला, १ जना डायलोसिस गरिरहेका, १ जना कलेजोमा समस्या आएका र १ जना डायबिटिजको जटिलता भएका बिरामी रहेका छन् भने अन्य संक्रमितमा सामान्य स्वास्थ्य समस्यामात्र रहेको अस्पतालले जनाएको छ।

हाइफ्लोमा अक्सिजन दिँदा बिरामीलाई प्रतिमिनेट ६० देखि ८० लिटर अक्सिजन खपत हुने डा. बरालले बताए। हाइफ्लोमा अक्सिजन दिनुपर्ने बिरामीलाई ५ मिनेटमात्रै अक्सिजनको मात्रा कमी हुँदा बिरामीलाई समस्या पर्ने उनले जानकारी दिए ।

गएराति बिरामीले अक्सिजन २०—२५ मिनेट पाउने र त्यसपछि आधा घन्टासम्म नपाउने अवस्था भएको एक कुरुवाले बताए। अक्सिजन नलगाई बाँच्‍न नसक्ने बिरामीको मृत्यु भएको उनको भनाइ छ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिहीबार दिउँसो ४ बजेदेखि अक्सिजनको अभाव हुन थालेको थियो। अस्पतालका अक्सिजन फोकल पर्सन बिमल बरालले अक्सिजन उद्योगबाट उत्पादन कम भएका कारण पर्याप्त अक्सिजन नपाएको बताए।

‘हाम्रो मागभन्दा कम अक्सिजन उत्पादन भएछ, उद्योगमा हिजो केहीबेर लाइन गएछ’, उनले भने, ‘त्यही भएर हामीले माग गरे जति अक्सिजन पाइएन।’

उनका अनुसार अस्पतालमा अझै पनि अक्सिजनको अभाव भइरहेको छ।

अस्पतालमा अहिले दैनिक ३७० सिलिन्डर अक्सिजन आवश्यक भएको डा. बरालले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार