
लमजुङ्ग । लमजुङको मध्यनेपाल नगरपालिकाले कोभिड–१९ परिक्षण सेवा छिटो छरितो गराउन आँफैले एन्टिजेन खरिद गरेको छ ।
कोराेना भाइरसका शंकास्पद र कन्ट्याक्ट ट्रेसिङ्गमा परेकाकाे स्वाव संकलन गरी परिक्षणका पठाउदा नतिजा आउन ढिलाई हुदा संक्रमण फैलिने जाेखिम झनै उच्च भएकाे भन्दै नगरपालिका आफैले किट किनेर परिक्षण सुरुवात गरिएकाे नगरप्रमुख रमेशकुमार पाण्डेले जानकारी दिए ।
नगरपालिकाले पहिलाे चरणमा ५ सय ५० थान किट खरिद गरेकाे जनाएकाे छ ।
नगरपालिकाले सम्भावित संक्रमित वा कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरुलाई पालिका अन्तर्गतका तिनवटा स्वास्थ्य सँस्था मार्फत परिक्षणको व्यवस्था मिलाएको छ । नगरपालिकाले एक प्रयोगशाला र दुइवटा निजि अस्पतालमा एन्टिजेन मार्फत कोरोना परिक्षणको व्यवस्था गरेको नगरप्रमूख पाण्डेले बताए । जसमा दुइपिप्ले र भोर्लेटारमा रहेका दुईवटा निजी अस्पतालबाट एन्टिजेन मार्फत कोरोना परिक्षणको सेवा शुरु गरिएकाे उनकाे भनाई छ ।


संक्रमण जोखिम बढ्दै गएको अवस्थामा र बृद्धबृद्धा, अशक्तको हकमा समूदायमै पुगेर पनि परिक्षण सेवा प्रदान गरिने याेजना नगरपालिकाले बनाएकाे छ ।
नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणका सन्दर्भमा तत्काल समस्या सम्बोधन तथा उपचारका निम्ती स्वास्थ्य टोलि समेत तयारी अवस्थामा राखेको जनाएको छ । विशेष गरी कोरोना संक्रमण भई गम्भीर समस्या भएमा उद्धार तथा उपचारका निम्ती स्वास्थ्य चिकित्सक सहितको टोलि तयारी अवस्थामा राखिएको नगरप्रमूख पाण्डेले बताए ।
मध्यनेपाल नगरपालिकाले कोरोना संक्रमण रोकथाम तथा न्युनिकरणका अभियानलाई थप सशक्त बनाउन यसअघि नै अक्सिजन सहित ४० शैयाको आईशोलेसन समेत तयार गरिसकेकाे छ ।