
अब्जल मियाँ, गोरखा । गोरखाको बारपाकमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण भएको रोगको महामारी फैलिएको छ ।
जेठ सुरु भएपछि दोस्रो हप्ता नबित्दै बारपाकमा १२ जनाले साे महामारीबाट ज्यान गुमाइसकेका छन् ।


यस अवधीमा मृत्यु हुने सबैमा कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष रोशन विकले सिभिलखबरलाई बताए ।
अहिले बारपाकमा करिब एक हजार भन्दाबढिमा रुघाखोकी र ज्वरो सहित कोरोना भाइरससंग मिल्दोजुल्दो लक्षण देखिएको छ ।


बारपाक सुलिकोट गाउँपालिका वडा नं १ र २ मा गरी हालसम्म २५ जनाको पिसिआर परिक्षण र ८८ जनाको एन्टिजेन्ट मार्फत कोरोना परिक्षण गरिएको छ ।
जेठ १ गते २५ जनाको पिसिआर परिक्षण गरिएको थियो तर रिपोर्ट झन्डै २ हप्तापछि आज बिहिबार आएको छ । जसमा १९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
त्यसैगरी जेठ ६ गते ७० जना र ९ गते १८ गरी ८८ जनाको एन्टिजेन्ट परिक्षण गर्दा क्रमश ३३ र ११ जना गरी ४४ कोरोना पोजेटिभ देखिएको वडाध्यक्ष विकले सिभिलखबरलाई जानकारी दिए ।


बारपाकमा दिनै पिच्छे जसो मृत्यु हुन थालेपछि गाउँपालिकाले बिहिबार विज्ञप्ती निकालेर सहयोग गर्न अपिल गरेको छ ।
गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले बारपाकको अवस्था पालिका एक्लैले थेग्न नसक्ने रहेको भन्दै सहयोगका लागि सबैमा अपिल गरेका हुन ।
तत्काल बारपाकमा प्रदेश र संघिय सरकारले चिकित्सक सहितको टोली पठाएर परिक्षण थाल्नुपर्ने उनले बताएका छन् ।
सिङ्गो गाउँभरी कोरोनाको लक्षण मिल्दोजुल्दो बिरामी रहेकाले तत्काल त्यहाँ स्वास्थ्यकर्मीको टोली पठाउन आवश्यक रहेको उनले बताए ।
