काठमाडौं । भारतमा विध्वंस मच्चाएको शक्तिशाली चक्रवात यासको प्रभावले केही दिनयता नेपालमा वर्षा र हिमपात जारी छ। यो क्रम कम्तीमा शनिबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


महाशाखामा कार्यरत मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार रातिदेखि वर्षा भइरहेको छ। यसबीच कतिपय स्थानमा भारी वर्षासमेत भएको छ।
उनका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको छ, प्युठानमा भारी वर्षा भएको छ। यसैगरी प्रदेश १ र २ मा पनि हल्कादेखिम मध्यमसम्म वर्षा भएको छ। सुदूरपश्चिम एउटा प्रदेशमा मात्र वर्षा भएको छैन।
अहिले पनि प्रदेश १, प्रदेश २ बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा जारी छ। मौसमविद् बासीका अनुसार तर रातिभन्दा अहिले वर्षा केही कम भएको छ।

यासको प्रभाव अझै केही दिन रहने र अहिलेसम्मको अनुमानअनुसार कम्तीमा शनिबारसम्म (सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने गरिन्छ) वर्षा र हिमपातको क्रम जारी रहने देखिएकाले होसियारी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
गण्डकी, बागमती र प्रदेश १ का हिमालीरउच्च पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातरवर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
