• सोमबार, असोज १२ २०८३

यास चक्रवातको प्रभाव : नेपालमा अति भारी वर्षा र हावाहुरीको सम्भावना


बुधबार, जेष्ठ १२ २०७८
575
Shares


काठमाडौं । बंगालको खाडीमा बनेको ‘यास’ चक्रवातको प्रभाव नेपालमा पनि देखिन थालेको छ ।

त्यसको असरले अहिले देशका विभिन्न स्थानमा सामान्यदेखि मध्यमसम्म वर्षा भइरहेको काठमाडौंस्थित मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्।

मौसमविद् मञ्जु बासीका अनुसार यसले कम्तीमा आगामी शुक्रबारसम्म अति भारी वर्षा गराउने, साथै तराई क्षेत्रमा हावाहुरीसेमत आउने सम्भावना छ। त्यसैले सजगता अपनाउन आग्रह गरेकी छिन् ।

उनका अनुसार अहिले बागमती, लुम्बिनी, गण्डकी र प्रदेश २ मा हल्कादेखि मध्यसम्म वर्षा भइरहेको छ। रातिबाट अझ बढ्दै जाने सम्भावना छ।

यसअघिको ताउते चक्रवातभन्दा तुलनात्मक रूपमा नेपालको नजिकै भारतीय जमिनमा प्रवेश गरेकाले यसको असर अलि बढी पर्ने देखिएको हो।

ताउते चक्रवातको प्रभावले पनि नेपालमा केही दिन वर्षा भएको थियो।

‘अरब सागरमा बनेको ताउतेले नेपालको पश्चिमी क्षेत्रमा प्रभाव पारेको थियो भने अहिलेको यास चक्रवात बंगालको खाडीमा बनेको हो, जसले देशको पूर्वी भागमा बढी प्रभाव पारिरहेको छ,’ मौसमविद् बासीले भनिन्, ‘साथै ताउतेको तुलनामा अहिले चक्रवात नेपाल नजिक परेको छ।’

उनका अनुसार चक्रवात जमिनमा प्रवेश गरेपछि कमजोर हुँदै जान्छ। तर त्यसबाट विकास हुने मौसमी प्रणालीले नेपालमा प्रभाव पारिरहेको हो।

भारतीय सञ्चारमाध्यमका अनुसार यास चक्रवात आज दिउँसो ओडिसा र पश्चिम बंगालबीच जमिनमा बज्रिएको हो।

जसले त्यहाँ अहिले भीषण वर्षाका साथै तीव्र वेगको आँधी चलिरहेको छ। अलर्ट जारी गरिएको छ, लाखौं नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार