काठमाडौं । नेपाललाई कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्न कोरोना खोप वितरणको एक विश्वव्यापी अभियान कोभ्याक्सले आग्रह गरेको छ ।

भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले अझै एक वर्ष कोभिसिल्ड खोप दिन नसक्ने भनेको भन्दै कोभ्याक्सले त्यसको विकल्पमा अर्को उपयुक्त खोप रोज्न नेपाललाई आग्रह गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिए ।
कोभ्याक्सले सन् २०२१ को मे महिनासम्म नेपालमा १९ लाख २० हजार डोज खोप (कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने) खोप पठाउने प्रतिवद्धता जनाएको थियो । सोही प्रतिवद्धता अनुसार गत फागुन २३ गते पहिलो चरणमा ३ लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपाल पठाएको थियो ।
तर सेरमले कोभ्याक्स कार्यक्रमलाई पनि कोभिसिल्ड दिन नसक्ने जनाएपछि कोभ्याक्सले नेपाललाई अर्को खोप रोज्न आग्रह गरेको हो ।

‘हामीले भर्खरै कोभ्याक्सको पत्र प्राप्त गरेका छौं छलफलपछि हामी जुन १ सम्म जवाफ पठाउँछौं’ डा. गौतमले भने, ‘कोभ्याक्सिन, जोनसन एण्ड जोनसन, स्पुतनिक भी, भेरोसेललगायतका खोप हाम्रो भण्डारण सिस्टमलाई उपयुक्त हुने भएकाले यीमध्ये एउटालाई छान्छौं ।’
कोभ्याक्सलाई जवाफ पठाउनुअघि खोप समिति र स्वास्थ्य मन्त्रालयमा छलफल गरेर निर्णय गर्ने गौतमले बताए । ‘हाम्रो पत्रपछि कोभ्याक्सले खोप पठाउने मिति र पठाउन सक्ने डोज घोषणा गर्छ’ डा. गौतमले भने ।
कोभ्याक्सले यही मे महिनासम्म नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप पठाउने प्रतिवद्धता जनाएकाले छिट्टै खोप पठाउने आशा रहेको उनले बताए ।
