काठमाण्डौ – कोरोना सङ्क्रमण रोकथामका लागि साउदी सरकारले आफ्नो देश प्रवेश गर्ने यात्रुका लागि २४ मे देखि लागू हुने नयाँ नियम जारी गरेको छ ।

साउदी प्रवेश गर्दा ८ वर्षभन्दा माथिका सबैले पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट बोकेको या कोरोना विरुद्धको खोप दुवै डोज पूरा गरिसकेको आधिकारिक प्रमाण साथमा राखेको हुनुपर्नेछ । र पीसीआर परीक्षण नेगेटिभ रिपोर्ट ७२ घण्टा भित्रको हुनुपर्नेछ ।
भिजिट भिसामा साउदी जानेले कोरोना सङ्क्रमणको उपचारसमेत कभर गर्ने किसिमको स्वास्थ्य बिमा अनिवार्य गर्नुपर्नेछ ।

साउदी अरेबिया प्रवेश गर्ने सबै विदेशी नागरिकले साउदी पुगेपछि अनिवार्य ७ दिनको संस्थागत क्वारेन्टिन बस्नुपर्नेछ भने दुवै डोज खोप लगाएकाहरूले भने पर्ने छैन ।
साउदीको अकामा भएका व्यक्ति साउदी प्रवेश गरेपछि संस्थागत क्वारेन्टिन बस्दा बस्दै सङ्क्रमण भएर उपचार गर्नु परेमा सबै खर्च साउदी सरकारले नै गर्नेछ । तर भिजिट भिसामा साउदी गएका विदेशी नागरिकको हकमा भने व्यक्तिले गरेको स्वास्थ्य बिमाले नै कभर गर्नुपर्ने हुन्छ ।

यदि कसैले साउदी सरकारले जारी गरेको एकान्तवास तथा क्वरेण्टीनसम्बन्धि नियमको उलङ्घन गरेमा पुनः साउदी अरबमा आउन नपाउने गरी फिर्ता गर्ने साउदी सरकारले जनाएको छ ।