काठमाडौं । काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप एक साता लम्बिने भएको छ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
भक्तपुरका सिडिओ प्रेमप्रसाद भट्टराईका अनुसार थपिएको निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न पाइने छैन।
‘ सागसब्जी, माछामासु र दूधका लागि बिहान ९ बजेसम्म पसल खोल्न पाइनेछ,’ उनले भने।
भट्टराईले निषेधाज्ञा कार्यान्वयनमा पनि थप कडाइ गरिने बताए।


निषेधाज्ञा उल्लंघन गर्नेलाई नयाँ अध्यादेशअनुसार कारबाही पनि हुन्छ,’ सिडिओ भट्टराईले भने।
केही दिनअघि जारी भएको अध्यादेशमा निषेधाज्ञा कार्यान्वयनमा बाधा पुर्याए १ वर्ष र उल्लंघन गरे ६ महिना कैद हुन सक्ने र आदेश नमान्नेलाई सिडिओले एक लाख रुपैयाँ र संस्था पाँच लाखसम्म जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ।
