• सोमबार, असोज १२ २०८३

कुटपिट गरी एकको हत्या, ४ जना पक्राउ


सोमबार, जेष्ठ १० २०७८
615
Shares

Modern metal handcuffs. Vector illustration in flat style


सप्तरीमा कुटपिट गरी हत्या गरेको आरोमा चार जना पक्राउ परेका छन्।

रुपनी गाउँपालिका—१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका चार युवकलाई सोमबार पक्राउ गरेको हो।

धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले अनुसन्धानका क्रममा मनोज यादव, विनय यादव, मुकेश यादव र मुकेश पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कुटपिटबाट गम्भीर घाइते यादवको गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ।

गाउँपालिकास्थित युनिक अस्पतालले रिफर गरेपछि रामदललाई उपचारका लागि बिहीबार विराटनगर लगिएको थियो।

मादक पदार्थ र नशालु पदार्थ खाएका आरोपितले बुधबार राति धारिलो हतियारले निर्घात कुटपिट गरेको भन्दै रामदलका दाजु सरोवर यादवले जिल्ला प्रहरी कार्यालयमा उजूरी दिए।

पक्राउ परेका आरोपितले गाउँकै पोखरीमा माछापालन गरेर बसेका रामदलसँग गत बुधबार दिउँसो झगडा गरेको र सोही निहुँमा राति कुटपिट गरेर धारिलो हतियार प्रहार गरेको सरोवरले बताए।

पक्राउ परेका युवा यसअघि पनि कुटपिट र लागुऔषध ओसारपसारको आरोपमा पटक—पटक पक्राउ परेको स्थानीयबासीले जानकारी दिएका छन्।

चिकित्सकले आज मृत घोषणा गरेपछि शव परीक्षणका लागि विराटनगरस्थित कोसी अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार