काठमाण्डौ – कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश उल्लङ्घन गर्नेलाइ एक वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिबाना हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सोमवार विज्ञप्ति निकाल्दै अध्यादेश पालना नगर्नेलाई एक वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिबाना हुने जानकारी गराएको हो । यस्तै कुनै व्यक्तिले आदेश उल्लङ्घन गरेको पाइएमा एक लाख रुपैयाँसम्म जरिबाना हुने र कुनै संस्थाले आदेश उल्लङ्घन गरेको पाइएमा पाँच लाख रुपैयाँसम्म जरिबाना हुने बताइएको छ ।

मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गरेमा पटकै पिच्छे सय रुपैयाँ, विना काम बाहिर निस्किए पटकै पिच्छे दुई सय रुपैयाँ, अत्यावश्यकबाहेकका सवारी साधन चलाएमा दुई पाङ्ग्रे सवारी साधन भए पटकैपिच्छे दुई हजार रुपैयाँ, अरू गाडी भए पटकैपिच्छे पाँच हजार रुपैयाँ जरिबाना गराइने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
